कुवेत जान लागेका १ सय २६ जनालाई विमानस्थलबाटै किन फर्काइयो ?

काठमाण्डौ । वैदेशिक रोजगारीमा कुवेत जान लागेका एक सय २६ जना श्रमिकलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको छ । कागजात शंकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको अध्यागमन कार्यालय त्रिभुवन विमानस्थलका प्रमुख अध्यागमन अधिकृत रामबन्धु सुवेदीले बताए ।

‘श्रम स्वीकृति लिएर गएका भए पनि अन्य कागजात शंकास्पद देखिएपछि उनीहरुलाई फर्काइएको हो’, सुवेदीले भने, ‘कसैको करारपत्रमा कम्पनीको एउटा नाम र श्रम स्वीकृतिमा अर्कै नाम पनि देखियो यस्तै देखाउने भिसा एउटा र झोलामा अर्कै भिसा भएका पनि देखिए ।’

उनकाअनुसार बुधबार बेलुकी ९८ जना र बिहीबार बिहान २८ जना गरी जम्मा एक सय २६ जनालाई कुवेत जानबाट रोकिएको हो । उनीहरुमध्ये अधिकांश महिला रहेको सुवेदीले बताए ।

अध्यागमनले उनीहरुलाई घरेलु कामदारको रुपमा जान लागेको आशंका गरेको छ । घरेलु श्रमिकका रुपमा कुवेतमा जान मिल्दैन । तर विभिन्न म्यानपावर कम्पनीहरुले झुटा विवरण पेस गरेर घरेलु कामदारमा पठाउन खोजेको भन्ने सूचनाका आधारमा अध्यागमनमा कडाइ गरिएको सुवेदीले बताए ।

अध्यागमन विभाग र वैदेशिक रोजगार विभागले थप अनुसन्धान गरी यसरी श्रमिक पठाउने म्यानपावर कम्पनीमाथि थप कारबाही अगाडि बढाइने पनि उनले बताए ।