एसीसी इमर्जिङ कप : श्रीलंकाद्धारा बंगलादेशसामु ३५० रनको लक्ष्य प्रस्तुत

काठमाडौं । एसीसी मेन्स इमर्जिङ टिम्स एसिया कपको उद्धघाटन खेलमा घरेलु टिम श्रीलंका ‘ए’ले बंगलादेशसामु ३५० रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

बिहीबार श्रीलंकाको कोलम्बोस्थित सिंहालिज स्पोर्ट्स क्लब मैदानमा भएको खेलमा टस हारेपछि ब्याटिङमा उत्रिएको श्रीलंकाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३४९ रन बनायो ।

श्रीलंकाका अभिस्का फर्नान्डोले १३३ रनको शतकीय पारी खेले । उनले १२४ बलमा १३ चौका र तीन छक्का प्रहार गरे । मिनोद भानुकाले ५७ रन थपे । पसिन्दु सुरियावन्दराले ४३, असेन वन्दराले ३५ रन जोडे ।

बलिङतर्फ बंगलादेशका रिपोन मोन्डोल र सौम्य सरकारले समान तीन विकेट लिए । रकिबुल हसन र मेहेदी हसनले एक–एक विकेट लिए ।

नेपालले आफ्नो पहिलो खेलमा भोलि पाकिस्तानको सामना गर्नेछ ।