प्रधानमन्त्रीमाथि पानी खन्याएपछि संसदभित्रै सांसदहरूबीच कुटाकुट

काठमाडौं । कोसोभोको संसदभित्रै सांसदहरूबीच कुटाकुट भएको छ ।

बिहीबारको संसद सत्रमा एक विपक्षी सांसदले रोस्टममै गएर प्रधानमन्त्री अल्बिन कर्टीमाथि पानी खन्याएपछि त्यहाँ कुटाकुट र हंगामा भएको हो ।

प्रधानमन्त्रीले देशको उत्तरी क्षेत्रमा बसोबास गर्ने सर्बियन जातीय समुदायसँग उत्पन्न भएको तनाव कम गर्न सरकारी उपायहरूको बारेमा बोल्दै गर्दा उनीमाथि विपक्षी सांसद मर्गिम लुस्ताकुले बोतलको पानी प्रहार गरेका हुन् ।

त्यसपछि त त्यहाँ सांसहरूबीच कुटाकुट नै भयो ।

गत मे यता कोसोभो र सर्बियाको सीमा क्षेत्रमा सर्बियन जातीय समूह र प्रहरीबीच झडप सिर्जना भएको छ । सो क्षेत्रमा सर्बियन जातीय समूह बढी छन्, तर त्यहाँ अर्कै जातीय समूहका व्यक्ति मेयर बनेपछि त्यहाँ सर्बियन जातीय समूहले हिंस्रक प्रदर्शन गरिरहेका छन् । हिंसा रोक्न नेटोका सेनाहरू नै खटाउनुपरेको छ ।

बुधबार मात्र प्रधानमन्त्री अल्बिन कर्टीले सर्बियन बहुल क्षेत्रबाट तैनाथ गरिएका प्रहरीको संख्या घटाउने र सो क्षेत्रमा मेयरका लागि नयाँ निर्वाचन गरिने बताएका थिए । यससँगै त्यहाँका विपक्षी दलहरू रुष्ट बनेका हुन् ।

कोसोभो सन् २००८ मा सर्बियाबाट स्वतन्त्र भएको एक भूपरिवेष्ठित राष्ट्र हो । त्यसअघि यो सर्बियाको एक प्रान्त थियो । यस राष्ट्रमा ९२ प्रतिशत अल्बानिया जातीय समूहका व्यक्तिहरू बसोबास गर्छन् भने ६ प्रतिशत सर्बियन जातीय समूहका मानिसहरू बसोबास गर्दछन् ।

यो राष्ट्रसँग अल्बानिया, सर्बिया, मेसेडोनिया र मोन्टेनेग्रोको सीमा जोडिएको छ । रोयटर्स