हामी गाली र आलोचना ग्रहण गर्दै सप्रिन र सच्चिन तयार छौँ : रवि लामिछाने

फाईल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गाली र आलोचना ग्रहण गर्दै आफ्नो पार्टी सप्रिन र सच्चिन तयार रहेको बताएका छन् ।

बुढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरे।

उनले भने, ‘हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ, सप्रिने र सच्चिने यसरी नै हो। तर मर्यादित र अनुशासित भएर टिप्पणी गर्दिनुहोस्’
सभापति लामिछानेले रास्वपाका सांसद तथा नेताका अभिव्यक्तिको गलत व्याख्या नगर्न सञ्चारकर्मीसँग आग्रह गरे।

रास्वपा अन्य राजनीतिक दलको प्रभावमा नपरेको उल्लेख गर्दै उनले जनताको मुद्दामा निःस्वार्थ र निः सर्त रूपमा सरकारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।