रास्वपा रूपन्देहीको विवाद चुलिँदै, कुटपिट गरिएको भन्दै प्रहरीमा उजुरी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रूपन्देहीको आन्तरिक विवाद चुलिँदै गएपछि एक समूहले अर्को समूहलाई कुटपिट गरेको भन्दै प्रहरी कार्यालयमा उजुरी पुगेको छ।

आगामी मंसिरमा रास्वपाको महाधिवेशन तय भएको छ। महाधिवेशनका लागि जिल्ला, क्षेत्र तथा गाउँ तहसम्म पार्टीको संगठन विस्तार गरिरहेको रास्वपा रुपन्देहीमा भने नेतृत्व हत्याउने दाउपेचकै कारण एक समूहले अर्को समूहका कार्यकर्ताको सदस्यता खारेजी गर्ने र कुटपिट गर्ने तहसम्म पुगेको हो।

रास्वपा सैनामैनाका र्‍यापिड एक्सन टिमका संयोजक समेत रहेका दामोदर खत्रीले पार्टीलाई विधानअनुरूप संचालन गर्नुपर्ने र पार्टीभित्र देखिएका विसंगतिहरू हटाउनुपर्ने आवाज उठाउँदै गर्दा आफ्नो आवाज दबाउन खोजिएको र हातपातसमेत गरेको दाबी गरेका छन्।

खत्रीले शनिबार बुटवलमा पत्रकार सम्मेलन गर्दै पार्टीलाई विधानअनुसार सञ्चालन गर्नुपर्ने भन्दा छुट्टै समूह गठन गर्न प्रस्ताव गरेको र आफू उक्त प्रस्तावमा सहमत नभएपछि कुटपिटमा उत्रिएको आरोप लगाए।

‘गत बुधबार राति ९ बजेतिर पार्टी कार्यालयमा बोलाएर ममाथि कुटपिटसमेत भएको थियो। सोही समूहले नै इलाका प्रहरी कार्यालय बुटवलमा उल्टै मैले कुटपिट गरेको उजुरी दिएका रहेछन्,’ खत्रीले भने।

खत्रीले रास्वपाको विधानको धारा १३ ङ मा सरकारी विद्यालयमा पढाउने कुनै पनि व्यक्ति पार्टीको कुनै पनि पदमा नरहने व्यवस्था रहेकोले जिल्ला, क्षेत्र र पालिका कुनै पनि तहमा त्यस्ता व्यक्तिलाई राख्न नहुने बताउँदै आएको बताए।

‘पार्टीको विधानमा कुनै पनि सरकारी शिक्षक पार्टी कमिटीमा बस्न नपाउने व्यवस्था गरिएको भए पनि रूपन्देहीका जिल्ला संयोजक प्रकाश ज्ञवाली तिलोत्तमा नगरपालिका वडा नं १७ पिपरहियास्थित बालविकास आधारभूत विद्यालयका शिक्षक भएकोले मैले सोही विषयमा आवाज उठाउँदै आएको थिएँ, विधानमा भएअनुसार गरौं भनेर आवाज उठाउँदा ममाथि कुटपिट गर्ने समूहले उल्टै मैले कुटपिट गरेको भनेर प्रहरीमा उजुरी दिएको सुन्दा अचम्म लागेको छ,’ खत्रीले भने।

शनिबार दिउँसो इलाका प्रहरी कार्यालय बुटवलबाट फोन गरी आफूमाथि कुटपिटको उजुरी परेको र आइतबार प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको उनले बताए।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार एउटा समूहले मुद्दा दर्ता गर्न भन्दै निवेदन दिएको र दुबै पक्षलाई छलफलका लागि आइतबार कार्यालयमा बोलाइएको छ।

खत्रीले आफू स्थापनाकालदेखि नै पार्टीमा लागेको र पार्टीलाई विधानअनुरूप सञ्चालन गर्नुपर्छ भनेर आवाज उठाउँदा पार्टीका लुम्बिनी प्रदेश उपसभापति शालिकराम घिमिरे, जिल्ला संयोजक प्रकाश ज्ञवाली र क्षेत्र नं। २ का क्षेत्रीय सदस्य विक्रम तिवारीको समूहले कुटपिट गरेको बताए।

खत्रीले हालै सम्पन्न भएको पार्टीको क्षेत्रीय निर्वाचनमा समेत प्रदेश उपसभापति घिमिरेले प्रतिनिधिहरूलाई प्रभावमा पारी उनीहरूका मोबाइलबाट आफैंले मत हालेर आफ्नो पदीय मर्यादाविपरीत काम गरेको आरोपसमेत लगाए।

‘उपसभापति घिमिरेले प्रतिनिधिहरूका मोबाइलबाट उनीहरूलाई मत हाल्न नदिई आफैंले मत हालेको विषयमा पनि मैले आवाज उठाउँदै आएको थिएँ, सोही कारण पनि ममाथि कुटपिट गरिएको हो,’ उनले भने।

खत्रीले उक्त समूहले आफूमाथि कुटपिट गर्न थालेपछि पार्टी कार्यालयबाट बाहिर निस्किएको र सो क्रममा प्रतिरक्षा गर्दा धकेलाधकेल भएको दाबी गरे।

उनले स्थापनादेखि नै लागेको सदस्यलाई पार्टीको सदस्य होइनस् भनेर कुटपिटमा उत्रिने नेतृत्व रहेसम्म पार्टीमा रहेर कुनै अर्थ नभएको भन्दै शनिबारदेखि नै उक्त पार्टीमा नरहेको समेत घोषणा गरे।

रास्वपा रूपन्देहीका संयोजक प्रकाश ज्ञवालीले भने दामोदर खत्रीले पार्टीका विभिन्न तह र पदमा रहेका व्यक्तिहरूलाई मनपरी आरोप लगाउने र पार्टी अनुशासनहीन कार्य गर्दै आएकोले सदस्यबाट हटाइएको बताए।

‘खत्रीलाई पार्टीले कुनै पनि जिम्मेवारीमा राखेको थिएन, उनी आफैंले र्‍यापिड एक्सन टिम क्षेत्र नं। २ को संयोजक घोषणा गरेका रहेछन्, जुन पार्टीको निर्णयविपरीत पनि छ,’ ज्ञवालीले भने।

सेतोपाटी