म्यानपावर व्यवसायीले अध्यागमनका महानिर्देशकको राजीनामा माग गर्दै गरे आन्दोलन

काठमाडौं । म्यानपावर व्यवसायीहरूले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीको राजीनामा माग गर्दै आन्दोलन गरेका छन्।

आइतबार कालीकास्थानस्थित अध्यागमन विभाग घेराउ गर्दै उनीहरूले महानिर्देशक अधिकारीको राजीनामा माग गरेका हुन्।

महानिर्देशकको निर्देशनमा वैदेशिक रोजगारमा जान हिँडेका श्रमिकहरूलाई दुःख दिने उद्देश्यले बिना कारण शंकाको भरमा विमानस्थलबाट फर्काएको आरोप उनीहरूको छ।

कुवेत तथा जोर्डन हिँडेका श्रमिकहरूको भिसालगायत कागजात शंकास्पद भएको भन्दै अध्यागमन कार्यालयले उनीहरूलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै फर्काएको थियो।

वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले वैदेशिक रोजगारीका लागि आवश्यक सबै कानुनी प्रकृया गरेर हिँडेका १९० श्रमिकलाई विमानस्थलबाटै फर्काइएको बताए।

‘३७ जना दोहोर्‍याएर गएकालाई पनि फेरि फिर्ता गर्‍यो। रोक्नुपर्ने कारण पनि छैन। बकाइदा भिसा छ। श्रम स्वीकृति छ तर किन फर्काइरहेको थाहा छैन,’ उनले भने।

अध्यागमनले अन्यायपूर्ण निर्णय गरेको भन्दै उनले दुःख व्यक्त गरे।

‘१५ जनाको आज मात्रै भिसाको अवधि सकियो। दुई पटक टिकट लिएर पठाइयो। एक जना बराबर एक लाख २० हजार गयो,’ उनले आक्रोश पोखे।

यसरी श्रमिक फर्काउँदा श्रमिकहरूको एक करोड रूपैयाँभन्दा बढी घाटा भइसकेको पनि भण्डारीले जानकारी दिए।

आइतबार उनीहरूले श्रमिकहरूको हवाई टिकट लगायत क्षतिपूर्ति अध्यागमनले बेहोर्नुपर्ने र उनीहरूलाई वैदेशिक रोजगारीमा पठाउनुपर्ने माग राख्दै विभाग घेराउ गरेका हुन्।

‘माग पूरा नभए हामी वैदेशिक रोजगारीमा श्रमिक पठाउनै बन्द गर्छौं। त्यसबापत जति क्षति र असर पुग्छ त्यसको जिम्मेवार अध्यागमन हुनुपर्छ,’ अध्यक्ष भण्डारीले भने।