सहकारी पीडितहरुको आवाज राज्यले सुन्नैपर्छः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले सहकारी पीडितहरुको आवाज राज्यले सुन्नुपर्ने बताएका छन् । आज प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले अहिलेको अवस्था आउनुमा सबैभन्दा बढी राज्य जिम्मेवार रहेकाले उनीहरुको आवाज सुन्न आवश्यक रहेको बताएका हुन् ।

सहकारी पीडितहरुले केहिदिनदेखि माईतीघर मण्डलाबाट आन्दोलन गरिरहेका छन् । पीडितहरुको आन्दोलनलाई राज्यले सम्बोधन गर्न आवश्यक रहेको बताउँदै उनले भने,‘यिनको आवाज राज्यले सुन्नैपर्छ । किनकी आज यिनको जे अवस्था भएको यसको जिम्मेवार राज्य पनि हो । जुन निकायले अनुगमन गर्नुपर्ने हो, त्यो निकायले अनुगमन राम्रोसँग गरेन । अनुगमन राम्रोसँग नगर्दैगर्दाको अवस्था यस्तो हुन्छ भन्ने थाहा थियो । जसले उसलाई काम लगाउन पर्ने थियो उ पनि केवल रिवन काट्नमा मात्रै व्यवस्त भयो ।’

समय घड्किएपछि मात्रै सरकारले अध्ययन कार्यदल गठन गरेको र उक्त कार्यदलले २७ बुँदामा प्रतिवेदन बुझाईसकेको उल्लेख गर्दै उनले वचतकर्ताको रकम फिर्ता गराउनका लागि आजैबाट काम आग्रह गरेका छन् । आफूहरुले सहकारी पीडितहरुले न्याय पाएको समाचार सुन्न चाहेको उनको भनाई छ ।