सन नेपाल लाइफ इन्स्योरेन्सको आइपिओ खुल्यो

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले आज (सोमबार) देखि प्रिमियमा आइपिओ निष्कासन गरेको छ।

कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गरेको हो।

कम्पनीले जारी पुँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने ९६ करोड रुपैयाँ बराबरको ९६ लाख कित्ता आइपिओ सार्वजनिक निष्कासनका लागि छुट्याएको छ।

सो मध्ये प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा प्रिमियम १३९ रुपैयाँ थप गरी कुल २३९ रुपैयाँमा ९ लाख ६० हजार कित्ता आइपिओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गर्न लागेको कम्पनीले बताएको छ।

उक्त आइपिओमा साउन १५ गतेसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ।

कम्पनीलाई केयर रेटिङ नेपालले ‘केयर एनपी ट्रिपल बी माइनस इस्युअर रेटिङ’ प्रदान गरेको छ। यसले कम्पनी समयमा नै वित्तीय दायित्व बहन गर्न सक्षम रहेको औषत स्तरको सुरक्षित रहेको जनाउँछ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ रहेको छ।

लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ प्रणली मार्फत् आवेदन दिन सक्नेछन्।