भारतविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

काठमाडौँ । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कपको दोस्रो खेलमा नेपालले भारत ‘ए’ विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

समूह ‘बी’ अन्तर्गत आर प्रेमादासा स्टेडियममा टस जितेर नेपालले भारतलाई पहिला बलिङका लागि निम्तो दिएको हो ।

यसअघि शुक्रबार भएको पहिलो खेलमा नेपालले पाकिस्तान ‘ए’ सँग ४ विकेटको पराजय भोगेको थियो । यता उपाधि दावेदार भारतले भने पहिलो खेलमा युनाइटेड अरब इमिरेट्स (यूएई) ‘ए’ लाई ८ विकेटले हराएको थियो ।

पहिलो खेलमा पराजय भोगेका कारण सेमिफाइनलको सम्भावना कायमै राख्न नेपालले भारतविरुद्ध जित हात पार्नुपर्नेछ । आजको खेलमा पराजित भएको खण्डमा नेपाल समूह चरणबाटै बाहिरिनेछ ।