एसिसी इमर्जिङ कप : नेपालका ओपनर कुशल भुर्तेल आउट

काठमाडौं । श्रीलंकामा जारी एसिसी इमर्जिङ टिम्स एसिया कपमा अहिले नेपालले भारतको ‘ए’ टिमविरूद्ध खेलिरहेको छ।

कोलम्बोमा प्रेमदसा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको छ।

नेपालका ओपनर कुशल भुर्तेल शून्यमा आउट भएका छन्। उनलाई दोस्रो बलमा भारतका हर्षित रानाले एलबिडब्लूको धरापमा पारेका छन्।

अहिले देव खनाल र आसिफ शेख ब्याटिङ गरिरहेका छन्।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग ४ विकेटको हार बेहोरेको थियो।

नेपालबाहेक अरु देशका सिनियर टिमले प्रतियोगितामा भाग लिएका छैनन्। नेपालबाहेकका टिमले युवा खेलाडी समेट्दै ‘ए’ टिम बनाएर प्रतियोगितामा सहभागी भएका छन्।

एसियाली क्रिकेट काउन्सिल (एसिसी) ले एसियाका एसोसिएट टिमलाई एक्सपोजर दिने उद्देश्यले आयोजना गर्ने प्रतियोगितालाई नेपालले एसिया कपको तयारीको रुपमा लिएको छ।

एसिया कप आगामी सेप्टेम्बरमा पाकिस्तान र श्रीलंकामा हुने तय छ। एसिया कपमा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने तालिका छ।

प्रतियोगिताको अन्तिम खेलमा नेपालले युएईको ‘ए’ टिमसँग साउन ३ गते खेल्नेछ।

दुई समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन्। प्रतियोगिताको फाइनल साउन ७ मा हुनेछ।

समूह ए – श्रीलंका ए, बंगलादेश ए, अफगानिस्तान ए, ओमान ए
समूह बी – पाकिस्तान ए, भारत ए, नेपाल, युएई ए