कांग्रेसले केन्द्रीय समितिको बैठक लाइभ गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठकको लाइभ गर्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा आज दिउँसो १ बजेदेखि सुरु हुने बैठकको लाइभ गरिने कांग्रेस प्रचार प्रसार विभाग प्रमुख मीन विश्वकर्माले बताए ।

उनका अनुसार पार्टीको आधिकारिक फेसबुक पेजबाट बैठकको लाइभ गरिने छ । पार्टीको पत्रकार सम्मेलन गर्ने कक्षमा बैठकको लाइभ प्रविधि जडान गरिएको विश्वकर्माले बताए । ‘हाम्रो पत्रकार सम्मेलन कक्षा छ ,’ उनी भन्छन्, ‘त्यो कोठामा लाइभ गर्ने प्रविधि जोडेका छौँ । माथिबाट बैठक हलमा क्यामरा कनेक्सन गरेर लाइभ गरिन्छ ।’

बैठकको लाइभका लागि व्यवस्थापन मिलाउने काम भइरहेको विश्वकर्माको भनाइ छ । ‘अडिओ, भिडिओ क्पाप्चर पार्टीको अफिसियल क्यामराले गर्छ । लाइभ सम्प्रेषण हामी पार्टीको फेसबुक पेजमार्फत गर्छौँ,’ उनले भने ।

मिडिया हाउसलाई लाइभ गर्ने दिनेबारे छलफल भए पनि पार्टीकै फेसबुक पेजमार्फत लाइभ गर्दा उपयुक्त हुने निष्कर्षमा पुगेको विश्वकर्माले  बताए । ‘बैठकमा मिडियालाई लाइभ गर्न दिने कुरा व्यवहारिक हुँदैन पनि । पचास साठी क्यामरा अट्दा पनि अट्दैन । सेट गर्न पनि समय लाग्छ,’ उनले भने, ‘अहिले पार्टीकै क्यामेराबाट गरौँ । पछि प्रोग्रेस गर्न सकिन्छ भने हेरौँला भन्ने भएको छ ।’