काठमाडौंको फोहोर बञ्चरेडाँडा लैजान आज पनि अवरोध कायमै, भोलिदेखि फोहोर नउठ्ने

काठमाडौं । स्थानीय बासिन्दाले अवरोध गरेपछि बञ्चरेडाँडास्थित ल्यान्डफिल्ड साइटमा आज मंगलबार पनि फोहोर फाल्न कठिनाई भएको छ । स्थानीयको अवरोधका कारण काठमाडौं महानगरबाट फोहोर बोकेको कुनैपनि गाडी ल्यान्डफिल्ड साइट नगएको फोहोर मैला व्यवस्थापन संघले जनाएको छ ।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयहरुले विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै नयाँ आर्थिक वर्ष सुरु भएकै दिन सोमबारदेखि फोहोर बोकेर ल्यान्डफिल साइट गएका गाडीहरुलाई बाटोमै रोकेका थिए ।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयले फोहोर विसर्जन गर्न अवरोध गरेपछि फोहोर मैला व्यवस्थापन संघले अदालतमा रिट दर्ता गरेको थियो ।

सर्वोच्च अदालतले बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न जाने टिपरसँग शुल्क उठाउने र नदिए अवरोध गर्ने स्थानीय तहको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको दिएपनि आदेशको अवज्ञा गर्दै स्थानीयले फोहोर बोकेर जाने गाडीमा अवरोध गरेका हुन् ।

संघका अनुसार सोमबार ३० वटा फोहोर बोकेका गाडी ल्याण्डफिल साइट जाँदा बाटोबाटै फर्केको थियो । तर, मंगलबार फोहोर बोकेको गाडी काठमाडौंबाट नै नगएको हो । काठमाडौं उपत्यकाबाट दैनिक फोहोर बोकेको करिब ३८० वटा ट्रक बञ्चरेडाँडा जाने महानगरले जनाएको छ ।

बञ्चरेडाँडा र सिसडोलका स्थानीयको अवरोध कारण बुधबारदेखि काठमाडौंको फोहोर नउठ्ने फोहोरमैला व्यवस्थापन संघले जनाएको छ ।

संघका सचिव मित्र घिमिरेका अनुसार सोमबार र मंगलबारको फोहोर टेकु ट्रान्सफर स्टेशन र गाडीमै राखिएको छ । जसका कारण बुधबारदेखि फोहोर उठाउन समस्या हुने भएको छ ।