गोरु काटेको आरोपमा ५ जना पक्राउ

काठमाडौं । गोरु काटेको आरोपमा ५ जना पक्राउ परेका छन्।

खोटाङको ऐसेलुखर्क गाउँपालिका ४ जलेश्वरीस्थित रमितेमा गोरु काटेर मासु बाँड्दै गरेको अवस्थामा सोमबार साँझ उनीहरु प्रहरीको फन्दामा परेका हुन्।

गोरु काटेको भन्ने विशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी मञ्जिल मुकारुङले बताए।

उनका अनुसार पक्राउ पर्नेमा ऐसेलुखर्क ४ का २९ वर्षीय बुद्धिमान तामाङ, २६ वर्षीय दावा तामाङ, २६ वर्षकै मोहन तामाङ, २८ वर्षीय मेखकुमार तामाङ र ५४ वर्षीय खिमा तामाङ रहेका छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय खोटाङ दिक्तेलमा ल्याएर कारबाही सुरु भएको छ। आरोपीहरुमाथि थप अनुसन्धानका लागि २ गतेदेखि लागू हुने गरी अदालतबाट ७ दिनको म्याद लिइएको डिएसपी मुकारुङले बताएका छन्।

उनका अनुसार उनीहरुमाथि मुलुकी संहिताको पशुपन्छी सम्बन्धी ऐन अनुसार कारबाही अघि बढाइएको छ। सो ऐन अनुसार बढीमा ३ वर्षसम्म कैद र जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको उनले बताए।