कुर्सीमा बसेकै अवस्थामा मृत भेटिए कृषि शाखाका हाकिम

काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिकाका कृषि शाखा प्रमुख मृत अवस्थामा भेटिएका छन् ।

४८ वर्षीय जयलाल दानी आफ्नै क्वाटरअगाडि कुर्सीमा बसेको अवस्थामा मृत फेला परेको नगर प्रमुख जनक कुमार बोहराले जानकारी दिए ।

बुढीनन्दा नगरपालिका-७ पाण्डुसैन घर भएका दानी कृषि प्राविधिकतर्फका स्थायी कर्मचारी हुन् । लामो समयदेखि रक्तचापको समस्याबाट पीडित दानी समय-समयमा अस्वस्थ भइराख्ने गरेको आफन्तले बताएका छन् ।

हिजो साँझ पनि एक्कासि स्वास्थ्यमा समस्या आएको हुनसक्ने अनुमान गरिएको छ । कार्यालयबाट क्वाटर गएका दानी क्वाटरबाहिर साँझैबाट बसेका थिए । उनी रातभरि त्यही कुर्चीमा रहे । स्थानीले बिहान देखेर प्रहरीलाई खबर गरेका थिए । त्यति बेलासम्म उनको मृत्यु भइसकेको बताइएको छ ।