ललिता निवास प्रकरण : आरोपीको निवेदनमा आज अन्तिम बसह हुँदै

काठमाडौं । ललिता निवासको जग्गा प्रकरणमा पक्राउ परेका आरोपीहरुले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा बुधबार सर्वोच्च अदालतमा अन्तिम बहस हुँदैछ।

बुधबार सरकारी पक्षले बहस सकेपछि सर्वोच्च अदालतले रिट निवेदनमा फैसला सुनाउनेछ। सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासमा सोमबारदेखि बहस भइरहेको छ।

वहालवाला सचिव कृष्ण बहादुर राउत, निर्वाचन आयोगका पूर्व आयुक्त सुधीरकुमार शाह, भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्व कर्मचारी धर्म प्रसाद गौतमले आफूहरुलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका थिए।

वुधबार सरकारी पक्षसहित २०७९ सालमा दर्ता भएको रिटमाथि पनि सुनुवाई हुने छ। सर्वोच्चले यो विवादसँग सम्बन्ध देखिएका ६ थान मुद्दालाई साथै राखेर सुनुवाइ गरिरहेको छ। सँगै राखिएको निवेदनमा बन्दीसहित उत्प्रेषणको आदेश र भ्याकेटको निवेदन पनि पेसीमा रहेको छ।

यसअघि केही आरोपीहरु २०७९ सालमा सर्वोच्चले जारी गरेको अन्तिम आदेशको आधारमा रिहा हुनुपर्ने माग गर्दै बन्दीको निवेदन लिएर सर्वोच्च पुगेका थिए।

वुधबार सरकारी पक्षले आफ्नो तर्कसहित बहसका क्रममा उठेका प्रश्न र न्यायाधीशको सोध्ने प्रंश्नको जवाफ दिनेछन्। उनीहरुको जवाफपछि १७ जनाले पक्राउ गर्न लागिएको भन्दै दायर गरेको निवेदनमा सुनुवाइ हुनेछ। यसको सुनुवाइपछि निवेदकका कानुन व्यवसायीहरुले जवाफी बहस गर्न पाउने छन्। सबै पक्षको बहस सकिएपछि इजलासले फैसला सुनाउने छ।

सर्वोच्चले बन्दीको रोहमा र अनुसन्धानका लागि पक्राउ गर्नुपर्छ कि पर्दैन भनि व्याख्या गर्ने छ। सर्वोच्चले थुना बाहिर राखेर अनुसन्धान गर्नु भनेमा थुनामा रहेकाहरु रिहा हुने छन्। यदि सर्वोच्चले थुनामै राख्ने निर्णय सदर गरेमा भने उनीहरु मुद्दा दायर भएर थुनछेक बहस नभएसम्म थुनामा रहनेछन्।