एसीसी इमर्जिङ कप : युएईमाथि नेपालको सहज जित

काठमाडौं । श्रीलङ्कामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट अन्तर्गत समूह चरणको तेस्रो तथा अन्तिम खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (युएई) ‘ए’ माथि सहज जित हात पारेको छ ।

कोलम्बोस्थित पी सारा ओभल मैदानमा बुधबार भएको खेलमा नेपालले युएईलाई तीन विकेटले हरायो । जितका लागि एक सय ५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले २३ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि कुशल भुर्तेलले ७१ रनको अर्धशतकीय इनिङ्स खेले । उनले ४३ बलमा नौ चौका र चार छक्काको सहयोगमा उक्त रन जोडे । देव खनाल र सन्दीप जोराले २४-२४, गुलसन झाले ११ र रोहित पौडेलले नौ रन बनाए ।

प्रतिस जिसीले आठ र कुशल मल्लले अविजित दुई रन बनाए । ओपनर अर्जुन साउद र पवन सर्राफ शून्य रनमा आउट भए ।बलिङमा युएईका मोहमेद फाराजुद्धिनले पाँच विकेट लिए । मोहमद जवादुल्लाले दुई विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको युएईले ४४ ओभरमा सवै विकेटको क्षतिमा एक सय ५७ रन बनायो । युएईका लागि लोभप्रित सिंहले सर्वाधिक ५२ रन बनाए । इथान डिसौउजाले १८, अश्वथा भलथापाले १६, अर्यान्सा शर्माले १४ र जश घियानानीले १३ रन जोडे ।

युएईलाई सस्तैमा समेट्न बलिङमा नेपालका कुशल भुर्तेलले ६ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ४० रन खर्चिएका थिए। अलराउन्डर प्रदर्शन गरेका कुशल ‘प्लेयर अफ दि म्याच’ भए। मौसम ढकालले दुई तथा पवन सर्राफ र कुशल मल्लले एक एक विकेट लिए ।

पाकिस्तान र भारतसँगको हारसँगै समूह चरणबाटै बाहिरिएको नेपाल र युएईका लागि आजको खेल केवल प्रतिष्ठाको लडाइँ मात्र थियो । जसमा नेपाल सफल भयो । नेपाल पहिलो खेलमा पाकिस्तान ‘ए’ सँग चार विकेट र दोस्रो खेलमा भारत ‘ए’ सँग नौ विकेटले पराजित भएको थियो ।

प्रतियोगितामा नेपाल र यूएईले समूह ‘बी’ बाट प्रतिस्पर्धा गरेका हुन् । यस समूहबाट भारत र पाकिस्तानले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । यस्तै समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान र ओमान छन् । एसियाका आठ टोली सहभागि प्रतियोगितामा सिनियर राष्ट्रिय टोली खेलाउने नेपाल एक्लो देश हो । अन्य देशले युवा खेलाडीलाई मौका दिएका छन् ।

समूहको शीर्ष दुई टोली सेमिफाइनलमा पुग्ने व्यवस्था छ । फाइनल खेल जुलाई २३ तारिख हुनेछ । यस प्रतियोगिताको कुनै पनि खेललाई एक दिवसीय मान्यता छैन ।

नेपालले यस प्रतियोगितालाई एसिया कपको तयारीको रुपमा लिएको छ । एसिया कप आगामी अगष्ट–सेप्टेम्बरमा पाकिस्तान र श्रीलङ्कामै हुनेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान एउटै समूह ‘ए’ मा छन् ।

समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।