सुन प्रकरण : भन्सार जाँच पास कार्यमा संलग्न सबै कर्मचारीलाई निलम्बन गरिँदै

काठमाडौं । सय किलो सुन बरामद प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारबाट जाँच पास कार्यमा संलग्न कर्मचारीहरूलाई निलम्बनको तयारी भएको छ ।

भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले घटनाको अनुसन्धानका लागि सुन जाँच पासमा संलग्न सबैलाई निलम्बनको तयारी गरिएको जानकारी दिए ।

‘जाँच पासमा संलग्न सबै कर्मचारीलाई निलम्बन गरेर छानबिन हुन्छ’, खड्काले भने । विभागले सुन बरामद प्रकरणमा हालसम्म छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्टसमेत रहेका छन् । विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । पक्राउ परेकाहरूको आधिकारिक रूपमा पहिचान खुलाइएको छैन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो ।

त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको ढुङ्गानाले बताए । सुन हङकङबाट ल्याइएको खुलेको उनले बताए । नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । ‘तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छु, उनले भने ।