बरामद भएको अवैध सुन सरकारले के गर्छ ?

काठमाडौं । बुधबार साँझ कार्गोमार्फत अवैध रूपमा भित्रिएर भन्सार जाँचपास भइसकेको करिब १ क्वीन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको छ । यो हालसम्मकै ठूलो परिमाणको भएको बताइएको छ । यसरी हरेक पटक भित्रिएका अवैध सुन कहाँ जान्छ, सरकारले सुनको व्यवस्थापन कसरी गर्छ भन्ने चासो आम जनमानसमा हुन सक्छ ।

बरामद गरिएको अवैध सुन जुनसुकै माध्यमबाट बरामद गरेपनि ती सबैको गुणस्तर र परिमाण जाँच गर्न सम्बन्धित निकायले नेपाल राष्ट्र बैंक टक्सार महाशाखामा पठाउँछ । महाशाखाका प्रमुख थानेश्वर आचार्य सरकारको जुनसुकै निकायमार्फत पक्राउ परेका सुन केन्द्रीय बैंक टक्सार महाशाखामा आउँने बताउँछन् ।

महाशाखा आइसकेको सुनको शुद्धता र तौलको यकिन भएपछि सम्बन्धित निकायले केन्द्रीय बैंकलाई खरिदका लागि लेखी पठाउँछन् । राष्ट्र बैंकले उक्त सुन खरिद गर्छ । ९९९ क्लजको ९छापावाला० सुन भए केन्द्रीय बैंकले असर्फी बनाउन प्रयोग गर्छ । सोभन्दा कम गुणस्तरको भए आवश्यकता अनुसार बिक्री गर्छ ।

राजस्व अनुसन्धान विभागका प्रवक्ता नवराज अधिकारी विभागले बरामद गरेको सुन राष्ट्र बैंक पठाउने र सुनको गुणस्तर र तौल यकिन भएपछि राष्ट्र बैंकले सो परिमाण बराबरको रकम लेखेर चेक विभागलाई दिने बताउँछन् । उक्त रकम विभागले धरौटी खातामा जम्मा गर्छ ।

सुनचाँदी व्यवसायी महासंघले निर्धारण गरेको दरअनुसार आज नेपालमा प्रतितोला १ लाख १३ हजार ६ सय रूपैयाँले सुनको कारोबार भइरहेको छ । सुन आयातमा १५ प्रतिशत भन्सार राजस्व लाग्ने गरेको छ ।