कर्णालीमा ७० हजार युवाले रोजगारी गुमाए

काठमाडौँ । परिवारको एक सरो कपडा फेरौँला, सुख–दुःखका लागि केही रकम जोहो गरौँला र दशैँमा घर फर्कौंला। यही सपना बोकेर गत मंसिरमा मुग्लान ९भारत० पसेका थिए, आठविस नगरपालिका–१ साततला दैलेखका डम्मर नेपाली।

तर उनका सपना यसपालि पूरा हुन पाएनन्। ‘धेरै ठूलो सपना थिएन, घर खर्च चलाउनका लागि भारत गएको हुँ,’ डम्मरले भने, ‘दशैँमा आउँला भनेर गएको थिएँ, चैतमै फर्कनुपर्‍यो।’

घर फर्किएदेखि उनले निकै तनाव झेल्नुपरेको छ। सुरुमा कोरोना संक्रमणका कारण समाजबाट तिरस्कृत भए। गाउँ फर्किएको हप्ता दिनमै कोरोना संक्रमण पुष्टि भएका उनी कर्णाली प्रदेशका पहिलो संक्रमित हुन्। कोरोना संक्रमणमुक्त भए पनि हिजोआज दैनिक घर खर्च कसरी चलाउने भनेर तनावमा छन्।

६ महिनादेखि आम्दानीको स्रोत गुमेको छ। कोरोना महामारीअघि भारतका विभिन्न गल्लीहरुमा पसिना बगाउँथे। आलु, स्याउ स्टोर र विभिन्न खाद्यान्न गोदाममा मजदुरी गर्थे। जेनतेन मासिक २० देखि २५ हजार रुपैयाँ आम्दानी गर्थे। त्यही पैसाले घरखर्च चलेको थियो। भाइबहिनी र घरपरिवारको सम्पूर्ण खर्च उनी एक्लैले धानेका थिए। तर कोरोना भाइरसको महामारीसँगै भारतमा लकडाउन सुरु भयो। काम नभएपछि स्वदेश फर्किए।

‘भारतमा मासिक २०–२५ हजार रुपैयाँ कमाउँथेँ, त्यही पैसाले घरखर्च चल्थ्यो,’ उनले भने, ‘गाउँ फर्किएदेखि एक रुपैयाँ आम्दानी भएको छैन, अब त घरखर्च चलाउन धौ–धौ छ।’ कोरोनाका कारण भारत जान नसकिने र गाउँमा पनि रोजगारी नभएपछि उनलाई घरखर्च कसरी चलाउने भन्ने चिन्ताले सताएको हो।

‘घरमा काम छैन, गाउँमा रोजगारी पाइँदैन, आजभोलि त दिन कटाउनै गाह्रो हुन थाल्यो,’ उनले भने, ‘कोरोना कहिले सकिएला र भारत जान पाइएला।’ यसअघि भारतबाट फर्कंदा ५०–६० हजार रुपैयाँ ल्याएर आउने उनी यो वर्ष पनि रित्तो हात फर्कनुपर्‍यो। ‘लकडाउन खुल्ने सम्भावना नभएपछि गाउँ फर्किन १० दिन हिँडेर गड्डाचौकी आएको थिएँ तर नेपाल प्रवेश नपाएपछि ४३ दनसम्म सिमानामा थुनिएँ,’ उनले सुनाए, ‘कमाएको दुई–चार पैसा बाटोमै सकिएपछि रित्तो हात घर फर्कनुपर्‍यो।’

जुनिचाँदे गाउँपालिका–४ लुहादहका नेत्रबहादुर खड्का पनि तीन महिनादेखि बेखर्ची छन्। भारतमा मजदुरी गरेर घरखर्च चलाउने उनी पनि कोरोनाको महामारीसँगै नेपाल फर्किएका हुन्। ‘कोरोनाका कारण भारतमा पनि काम ठप्प भयो, संक्रमित थपिँदै गए। बरु गाउँमै केही गरौँला भनेर फर्किएँ,’ उनले भने, ‘आम्दानीको अर्को उपाय भेटिएन, बेखर्ची बनेर बस्नु परेको छ।’

डम्मर र नेत्र मात्रै होइन, कोरोना भाइरसको महामारीपछि कर्णाली प्रदेशमा ७० हजारभन्दा बढीले रोजगारी गुमाएका छन्। यसमा सबैभन्दा बढी भारतमा दैनिक ज्याला–मजदुरी गर्ने छन्। नेपालीहरुको लागि रोजगारीको मुख्य गन्तव्य भारतबाट कोरोनापछि झण्डै ७० प्रतिशत नेपाली गाउँ फर्किएका छन्।

कोरोना महामारीका कारण स्वदेशमै रोजगारी गुमाउनेको संख्या पनि कम छैन। लकडाउनका कारण होटल व्यवसाय, उद्योगधन्दा र स्कुल–कलेज बन्द छन्। निजी क्षेत्रमा काम गर्ने अधिकांश मजदुरको रोजगारी कोरोनाले खोसिदिएको छ।

कर्णालीका निजी तथा आवासीय विद्यालयमा कार्यरत साढे ५ हजार शिक्षक–कर्मचारीको रोजगारी पनि संकटमा परेको छ। कर्णाली प्रदेशका ३८० संस्थागत विद्यालयमा झण्डै साढे पाँच हजार शिक्षक कर्मचारी कार्यरत छन्। अभिभावकबाट शुल्क उठाउने वातावरण नभएका कारण शिक्षक–कर्मचारीको तलब खुवाउन नसकेको निजी तथा आवासीय विद्यालय अगनाइजेन कर्णाली प्रदेशका अध्यक्ष नैनसिंह खत्रीले बताए।

कर्णालीका उद्योग, व्यवसायमा काम गर्ने झण्डै ८० प्रतिशत श्रमिकको रोजगारी संकटमा परेको छ। लामो सयमसम्म भएको लकडाउन र कोरोना महामारीका कारण उद्योग–व्यवसाय बन्द हुँदा धेरैको रोजगारी संकटमा परेको उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेशका अध्यक्ष पदमबहादुर शाहीले जानकारी दिए।

बाँकी २० प्रतिशत श्रमिकले पनि आंशिक रुपमा मात्रै रोजागरी जोगाएका छन्। बन्दका कारण उद्योग–व्यवसाय बन्द हुँदा रोजगारदाताले श्रमिकलाई काममा फर्काउन सक्ने अवस्था छैन। होटल व्यवसायका मात्रै झण्डै पाँच हजार श्रमिकको रोजगारी संकटमा परेको अनुमान छ।

कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयको तथ्याङ्क अनुसार कोरोना भाइरस र लकडाउनका कारण सुर्खेतका १८ हजारभन्दा बढीले रोजगारी गुमाएका छन्। भारतमा मजदुरी गर्ने सुर्खेतका १६ हजार ९४३ जना, तेस्रो मुलुक गएका २६१ जना र स्वदेशमै विभिन्न क्षेत्रमा कार्यरत ८ हजार ८८६ जनाको रोजगारी गुमेको छ।

दैलेखका १६ हजार नागरिकको रोजगारी गुमेको तथ्यांक छ। भारतमा मजदुरी गर्ने १५ हजार ८८४ जना, तेस्रो मुलुकका ४५ जना र स्वदेशमा काम गर्ने १ हजार ३९८ जनाको रोजगारी गुमेको छ।

जाजरकोटका भारतमा भारतमा मजदुरी गर्ने पाँच हजार ५२६ जना, तेस्रो मुलुकका ३१ र नेपालभित्रैबाट ४५ जना, रुकुम पश्चिमका ६ हजारमध्ये भारतबाट २ हजार ७४५ जना, तेस्रो मुलुकबाट १०७ जना र स्वदेशमा काम गर्ने ४ हजार २०० जनाले रोजगारी गुमाउन बाध्य भएका छन्। त्यस्तै सल्यानका ४ हजार ४००, डोल्पाका भारतबाट २१ जना, हुम्लाका भारतबाट २००, जुम्लाका एक हजार ८००, मुगुका एक हजार ७०० र कालिकोटका ६ हजार १५६ जनाको रोजागरी गुमेको मन्त्रालयका सूचना अधिकारी कृष्णबहादुर रोकायाले जानकारी दिए।

यता कर्णाली प्रदेश सरकारले भने कोरोनाका कारण विदेश तथा स्वदेशमा रोजागरी गुमाएका झण्डै डेढ लाख नागरिकलाई रोजगारी दिने लक्ष्य लिएको जनाएको छ। प्रत्यक्ष र अप्रत्यक्ष रुपमा कृषिमा मात्रै ५० हजारलाई रोजगारी दिने भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले लक्ष्य राखेको छ।

प्रदेश सरकारका प्रवत्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार चालू आर्थिक झण्डै डेढ लाखलाई युवालाई रोजगारी दिने प्रदेश सरकारले लक्ष्य राखेको छ। यसका लागि एक करोड मुनिका विकास निर्माणका योजनाहरु उपभोक्ता समितिबाटै गराउने सरकारको तयारी छ।

‘भोकमरी र रोजगारी प्रदेशका मुख्य प्राथमिकता हुन्,’ मन्त्री केसीले भनिन्, ‘कृषि र विकासका क्षेत्रमा एक लाख ५० हजार नागरिकलाई रोजगारी दिन्छौं।’