करोडौं ठगेर फरार व्यक्ति पक्राउ

काठमाडौं । सुन पसलमा आउने ४६६ जना ग्राहकको २४ करोड ६५ लाख ३ सय ५५ रुपैयाँ हिनामिना गरेर फरार रहेका सुनचाँदी व्यवसायी सोमराज विक बिहीबार साँझ काँकडभिट्टाबाट पक्राउ परेका छन्।

गौरादह नगरपालिका वडा नम्बर १ बस्ने ५१ वर्षीय सोमराजलाई स्थानीय जनप्रतिनिधि र प्रहरीको विशेष समन्वयमा बिहीबार साँझ काकरभिट्टा क्षेत्रबाट पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय झापामा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक डीएसपी खगेन्द्र रिजालले जानकारी दिए।

स्थानीय मानिसको रकम हिनामिना गरेर गत असार १४ गतेदेखि सम्पर्कबिहीन भएका विकमाथि पीडितहरुको जाहेरी अनुसार गत असार २४ गते ठगी मुद्दा दर्ता भएको थियो। उनी मलाई नखोज्नु भन्दै वाडाध्यक्षलाई पत्र लेखेर सम्पर्कबिहीन भएका थिए।

असार १५ गते वडा नम्बर १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको म्यासेन्जरमा चिठी पठाएर उनी सम्पर्कबिहीन बनेका थिए। हाल पनि वार्ड कार्यालयमा दैनिक ३÷४ जना विकबाट ठगिएको भन्दै दैनिक सम्पर्कमा आउने गरेकोले ठगीको रकम अझै बढन सक्ने वाडाध्यक्ष भण्डारीले बताए। विक सम्पर्कबिहीन भएपछि उनका सबै बैंक खाता रोक्का गरिसकिएको प्रहरीले जनाएको छ। विकले पहिले क्षेत्रका स्थानीयलाई विश्वासमा लिएर ब्याजमा रकम लिनेदिने काम गर्दै आइरहेको स्थानीयको भनाइ छ।