त्रिभुवन विमानस्थलको पार्किङ शुल्क तोक्यो महानगरले

काठमाडौं । काठमाडौं महानगरपालिकाले त्रिभुवन विमानस्थलमा पनि पार्किङ शुल्क तोकेको छ । पार्किङ शुल्कमा एकरुपता ल्याउनका लागि महानगरले विमानस्थलमा सञ्चालति पार्किङको शुल्क निर्धारण गरेको हो ।

काठमाडौं महानगरपालिकाका नगर प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार महानगरले चालु आर्थिक वर्षको आर्थिक ऐन अनुसार विमानस्थलमा सञ्चालित पार्किङको शुल्क तोकेको हो ।

अन्यत्र भन्दा धेरै शुल्क लिइरहेको सूचना पाएपछि महानगरले विमानस्थलको पार्किङ शुल्क तोकेको उनले बताए ।

‘शुल्कमा सबैतिर एकरुपता ल्याउने निर्णय कार्यान्वयन गराउन महानगरको टोली आज विमानस्थलको पार्किङ क्षेत्रको ठेक्का लिएको कम्पनीलाई भेटेको छ । अब महानगरले तोकेबमोजिम नै शुल्क लिन भनेका छौं’ उनले भने ।

त्रिभुवन विमानस्थलले पार्किङ सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । ठेक्का लिएको कम्पनीले सेवाग्राहीसँग आफू खुसी शुल्क उठाइरहेको थियो ।

आर्थिक ऐन २०८०/८१ मार्फत महानगरले दुई पाङ्ग्रे सवारी साधनका लागि आधा घण्टा पार्किङ गर्दा १५ रुपैयाँ, १ घण्टाका लागि २५ रुपैयाँ शुल्क तोकेको छ । एक घण्टाभन्दा बढी पार्किङ गर्दा हरेक १५ मिनेटको ५ रुपैयाँ थप शुल्क लाग्ने व्यवस्था महानगरले गरेको छ ।

यस्तै चारपाङ्ग्रे सवारी पार्किङ गर्दा आधा घण्टाका लागि ४० रुपैयाँ र १ घण्टासम्मको ७५ रुपैयाँ शुल्क तोकिएको छ । त्यसभन्दा धेरै पार्किङ गर्नेको हरेक १५ मिनेटको १५ रुपैयाँ शुल्क थप हुँदै जाने छ ।