अब चालक र सहचालकलाई ड्रेस र परिचय पत्र अनिवार्य

काठमाडौं । देशभरका सार्वजनिक यातायातका चालक र सहचाकलाई अब ड्रेस र परिचय पत्र अनिवार्य गरिने भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आइतबार सार्वजनिक यातायातका कर्मचारीलाई ड्रेस,परिचयपत्र र सवारी साधनको सफाइ अभियान सुरू गरेको हो ।

मन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था विभाग र सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आयोजना गरेको एक कार्यक्रममा सवारी चालक र सहचालकलाई परिचय पत्र,ड्रेस हस्तान्तरण गरेका हुन्। मन्त्री ज्वालाले चालक र सहचालकको बोली, भाषा र व्यवहार यात्रुमैत्री हुनुपर्ने बताए।

उनले बोलीकै कारणले कतिपय यात्रुहरूले समस्या भोग्नु परेको बताउँदै पोशाक र परिचय पत्र अनिवार्य गरेपछि पीडितहरूले गुनासो सम्बन्धित ठाउँमा गर्नसक्ने बताए।

मन्त्री ज्वालाले चालक र सहचालकले पनि यस विषयमा गम्भीर हुन अनुरोध गरे।

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले सार्वजनिक बसको सफाइको प्रतिबद्धता जनाएको छ । काठमाडौं उपत्यकामा सञ्चालन हुने सबै सवारी साधनमा अब ड्रेस र सफाइ अभियान सञ्चालन हुने भएको छ ।

यसअघि काठमाडौंमा चल्ने ट्याक्सी र टेम्पोलाई मात्रै ज्याकेज अनिवार्य रुपमा लगाउनुपर्ने व्यवस्था गरिएको थियो।