कांग्रेस कमजोर बनाउन घन्टी कांग्रेस, हलो कांग्रेस भन्ने प्रचार भए : मोहन बस्नेत

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले निश्चित व्यक्तिहरुले कांग्रेस कमजोर बनाउन पार्टी फुट्छ भन्ने गलत प्रचार गरेको आरोप लगाएका छन्।

‘निश्चित व्यक्तिबाट कांग्रेस कमजोर बनाउन खोजिएको छ। पार्टी फुट्छ भन्ने प्रचार भए। घन्टी कांग्रेस, हलो कांग्रेसका कुरा आए,’ उनले बताएका छन्।

त्यस्तै उनले पार्टीभित्र केही नेताले गफ दिएर सबै कुरा भद्रगोल गर्न खोजेको बताए।

आफ्नो क्षेत्रमा सबैले दुस्ख गरेर आएको छ भन्दै उनले केही नेताले गफ दिएर पार्टीलाई भद्रगोल गर्न खोजेको आरोप लगाए।

आइतबारको केन्द्रीय समिति बैठकमा बस्नेत आक्रोशित भएर प्रस्तुत भएका थिए। बैठक लाइभ भइरहेको छ भन्ने ख्याल गर्न उनलाई सभापति शेरबहादुर देउवाले सम्झाउनुपरेको थियो।

‘कुनै गुटले पनि नपत्याएपछि अहिले केही मानिसहरू गुट चाहिन्न भनिरहेका छन्,’ उनले भने, ‘हिजो एकपछि अर्को गुटमा गएर उनीहरूले के-के अवसर लिए।’

उनले महामन्त्री गगन थापाको नाम नलिई टिकट वितरणबारे थापाले बोलेका अभिव्यक्तिमा कटाक्ष गरेका थिए।

‘दाइ-भाउजूले टिकट बाँड्छन् भन्ने ?,’ उनले भने, ‘ठूला कुरा गर्नेहरूले स्थानीय चुनावमा सिन्धुपाल्चोकमा कारबाही सिफारिस गरेकालाई गुटबाट प्रदेश समानुपातिक उम्मेदवार सिफारिस कसले गरेको ?’

मौका पाउँदा सबैले गुटबाट फाइदा लिएको उनको भनाइ थियो।

आफूलाई गत चुनावमा हराउन खोजेको आरोप समेत उनले बताए। ‘माओवादीका अग्निप्रसाद सापकोटा नलड्ने भएपछि सिन्धुपाल्चोक क्षेत्र ! मलाई किन दिइएन। हामीलाई दिनुपर्छ भनेर क-कसले बोल्‍नुभयो?,’ उनले भने, ‘हराउन क्षेत्र नम्बर २ मा पठाएको होइन ? तपाईंहरूको दुर्भाग्य मैले चुनाव जितेर आएँ।’

उनले मन्त्री हुन नपाएकाहरूले सरकारका कामकारबाहीको विरोध गरेको आरोप लगाए। साथै केहीले कांग्रेस कमजोर पार्न खोजेको उनको भनाइ थियो।

उनले युवा हुनुपर्ने र मै हुनुपर्ने प्रवृत्ति पार्टीभित्र हुर्किरहेको बताए। उनले गठबन्धनको विरोध नगर्न पनि आग्रह गरेका थिए।

‘पहिले माओवादी र एमाले मिल्दा सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न सकेन भन्ने। अहिले गठबन्धन गर्दा गठबन्धनको विरोध गर्नेरु,’ उनले भने, ‘गठबन्धन नगरेको भए क-कसले चुनाव जितेर आउँथे ?’

उनले गठबन्धन भत्काउने काम गरे एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउन सक्नेतर्फ पनि हेक्का राख्न आग्रह गरेका थिए।