यी तीन प्रदेशमा चट्याङसहित भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौँ। हाल देशमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसमविज्ञान विभागले विज्ञप्तिमार्फत जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

आज (सोमबार) बिहानसम्म देशभर आंशिकदेखि सामान्य बदली रही मधेस प्रदेशका एक–दुई स्थानमा तथा देशका बाँकी भूभागका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी प्रदेशसहित अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा देशका बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना छ । महाशाखाका अनुसार सोमवार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।

कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन तथा चट्याङसहित भारी वर्षाको सम्भावना छ ।