प्रमुख जिल्ला अधिकारी खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । खोटाङका प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोजराज खतिवडाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खतिवडाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेसँगै आजैदेखि स्वत निलम्बनमा परेका छन् ।

ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकाको तत्कालीन प्रमुख प्रशासकीय अधिकृत हुँदा खतिवडाले वडा नं। १० विद्युत पोल तार र ट्रान्समिटर खरिद योजनामा मिलोमतो गरी भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा मुद्दा दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् । हाल खतिवडा खोटाङका सीडीओ हुन् ।

‘भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ङ) बमोजिमको कसुर गरेको पुष्टि भएको भन्दै खतिवडासहित अमृत कुमार दाहाल, दिल कुमार बुढाथोकी र दामोदर धमलालाई ४ लाख ७७ हजार ८९९ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिमको सजाय गरी बिगो दाबीसहित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिमको कसुर गरेको हुँदा निजहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९(२) बमोजिम कैद र जरिवाना हुनसमेत मागदाबी लिइएको छ’, आयोगको आरोप पत्रमा भनिएको छ ।