सुन तस्करी प्रकरण : अनुसन्धान गर्न प्रहरीले खटायो एसपी पंगेनीलाई

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्रिएको भारी परिमाणको सुनबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालय नक्सालले एसपी कृष्ण पंगेनीलाई खटाएको छ।

राजश्व अनुसन्धान विभागले प्रहरीको सहयोग मागेपछि प्रधान कार्यालयले एसपी कृष्ण पंगेनीलाई खटाएको प्रधान कार्यालयका प्रवक्ता डिआइजी कुवेर कडायतले जानकारी दिए।

एसपी पंगेनी मानव बेचविखन अनुसन्धान ब्युरोमा कार्यरत छन्। गत मंगलबारदेखि राजश्व अनुसन्धान विभागका अधिकृतहरूले अनुसन्धान गरिरहेको थिए।

यही प्रकरणमा भन्सार विभागले छानबिन समिति बनाएको थियो। अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा रहेको उक्त समितिले अहिले काम गरिरहेको छ।

विभागबाट खटिएको टोलीले गत मंगलबार विमानस्थलको भन्सार जाँचपास भएको अन्दाजी ८० देखि १०० किलो सुन बरामद गरेको थियो। हङकङबाट क्याथे प्यासिफिक एयरलाइन्सको जहाजमा आएको ब्रेक शुमा लुकाएर ठूलो परिमाणको सुन भित्रिएको थियो।

उक्त सुन बरामद भएयता विभागले एक जना भारतीय र एक जना चिनियाँ नागरिकलाई समेत पक्राउ गरिसकेको छ। अहिलेसम्म यस प्रकरणमा १६ जना पक्राउ परेका छन्।

भन्सार अधिकृत सन्तोष चन्द, खरिदार एवं जाँचकी कुमार ढकाल र एक्सरे अपरेटर सरोज श्रेष्ठ पनि पक्राउ परेका छन्।

सुनको परिमाण यकिन गर्न विभागले बिहीबार नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा पठाइसकेको छ। तर परिमाण कति छ भन्ने यकिन भइसकेको छैन।