राजनीतिक तहमै भ्रष्टाचार संस्थागत हुँदै गएको छ : उपेन्द्र यादव

Upendra Yadav

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक तहमै भ्रष्टाचार संस्थागत हुँदै गएको बताएका छन् । महँगो निर्वाचन प्रणालीले मुलुकमा राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन गरेकाले त्यसको सुधार तत्काल गर्नुपर्ने उनको भनाई थियो ।

सोमबार काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौतिः भ्रष्टाचार र दण्डहीनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले राजनीतिक तहमै हुने संस्थागत भ्रष्टाचार नै मुलुकमा समाजवादी व्यवस्था ल्याउनका लागि मुख्य बाधक रहेको समेत बताए । अध्यक्ष यादवले नेपाल जस्तो अल्पविकसित मुलुकमा पनि विकसित देशहरूको भन्दा महँगो निर्वाचन प्रणाली हुनु दुखद् कुरा भएको बताए ।

उनले भने, ‘नेपाल जस्तो अल्पविकसित देशमा विकसित पुँजीवादी देशहरू भन्दा महँगो निर्वाचन प्रणाली हुनु राजनीतिक भ्रष्टाचारलाई प्रोत्साहन नै गरेको छ । सुधार्नु यहाँ जरुरी छ । राजनीतिक दलहरू चुनाव लड्दाखेरी वा चुनावमा हुने खर्च त्यो पनि त भ्रष्टाचार नै हो नि त । होइन र ? यो निर्वाचन प्रणालीलाई बदलौँ । अहिलेको निर्वाचन प्रणाली अत्यन्तै महँगो र खर्चिलो भयो । त्यस कारणले निर्वाचन प्रणाली र हाम्रो जस्तो अल्प विकसित मुलुकमा परिश्रम गर्दा खेरी उसले प्राप्त गर्ने जो ज्याला, मजदुरी वा तलब छ । त्यसले ऊ आफूलाई धान्न सक्दैन । के गरोस् त ? त्यहाँ पनि छ । भ्रष्टाचार संस्थागत हुँदै गएको छ । माथिदेखि तलसम्म, तलदेखि माथिसम्म भ्रष्टाचार संस्थागत भएको छ । समाजवादका लागि एउटा यो ठूलो बाँधा रहेको छ ।’

अध्यक्ष यादवले नेपालमा समाजवाद ल्याउने सपना देखेका कम्युनिस्ट पार्टीका नेताहरू नै नवधनाढ्य वर्गमा परिणत भएको दाबी गरे ।