बाढी–पहिरोका कारण ३ वटा राजमार्ग अवरूद्ध, १९ स्थानमा एकतर्फी

काठमाडौं । अविरल वर्षापछि आएको बाढी–पहिरोका कारण तीनवटा राजमार्ग पूर्णरूपमा अवरूद्ध भएका छन्।

सडक विभागकाअनुसा चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने तमोर करिडोर अन्तर्गतको सडक माझिटार, हेवाखोलामा अवरूद्ध छ,

त्यस्तै भालुवाङ लिवाङ रोल्पा माडीचौर दारबोट जोड्ने सडक प्युठानको खहरे खोलामा र गर्जेनीमा अवरूद्ध रहेको छ।

यस्तै, बेलहिया-भैरहवा-बुटवल-बर्तुङ-राम्दी-स्याङ्जा-पोखरा जोड्ने सिद्धार्थ राजमार्गअन्तर्गतको सडक पाल्पाको ६ स्थानमा अवरूद्ध भएको सडक विभागले जानकारी दिएको छ।

यसवर्ष मनसुन सुरू भएयता ११४ स्थानमा सडक अवरूद्ध भएको विभागले जानकारी दिएको छ। त्यसमध्ये ३ राजमार्ग ८ ठाउँमा अवरूद्धको अवस्थामा छन् भने १९ स्थानमा एकतर्फी सञ्चालनमा छन्। ८७ स्थानमा दुवैतर्फ चालु रहेको विभागको भनाइ छ।

मौसमजन्य विपदका कारण राजमार्गमा २४ करोड ९८ लाख ३० हजार बराबर क्षति पुगेको विभागको अनुमान छ।