ओली र सीपीसीका नेताबीच भेटवार्ता, के-के भयो कुराकानी ?

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेता युआन च्या च्युनबीच भेटवार्ता भएको छ ।

मङ्गलवार बिहान ललितपुरको च्यासलमा रहेको एमाले मुख्यालयमा अध्यक्ष ओलीसँग चिनियाँ नेता युआनले भेट गरेका हुन् । भेटमा दुई देशबीचको सम्बन्धलाई अझ बलियो बनाएर लैजाने विषयमा छलफल भएको एमाले विदेश विभाग सदस्य गोपाल खनालले जानकारी दिए । त्यस अवसरमा अध्यक्ष ओलीले नेपाल अहिले विकासको प्रयासमा रहेकाले चीन सरकारको अपेक्षित सहयोग महत्त्वपूर्ण हुने धारणा राखेका थिए भने नेता युआनले नेपाल र नेपाली नागरिकको विकासको सन्दर्भमा सक्दो सहयोग गर्न चीन सरकार तत्पर रहेको बताएका थिए ।

अध्यक्ष ओलीले चीनले नेपाललाई सधैँ प्राथमिकता दिने गरेको भन्दै चीन सरकार र चिनियाँ नेताहरूको प्रशंशा गरेका थिए । भेटमा ओली नेतृत्वको सरकारका बेला दुई देशबीचको सम्बन्ध विस्तारबारे भएको प्रगतिको पनि स्मरण गरिएको एमाले विदेश विभाग सदस्य खनालले बताए ।

श्रीलङ्काको भ्रमण पूरा गरी गएको आइतवार नेपाल आएका नेता युआनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भने ‘अर्चुअल’ संवाद गरेका थिए । इटली भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डसँग नेता युआनले ‘भर्चुअल’ संवाद गरेका हुन् । त्यसैगरी उनले राष्ट्रपति रामचन्द्र पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका थिए । त्यसैगरी नेता युआनले कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठसहितका माओवादी केन्द्रका पदाधिकारी, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलगायतसँग भेट गरी दुई देशबीचको सम्बन्धबारे चासोपूर्वक छलफल गरेका थिए ।