निर्मला हत्याकाण्डको ५ वर्ष पूरा, प्रहरी भन्छ :अनुसन्धान जारी छ ?

काठमाडौं । कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको ५ वर्ष पूरा भएको छ।

१० साउन २०७५ मा विद्यालयको गृहकार्य गर्न साथीको घर गएकी भीमदत्त नगरपालिका–२ की बालिका निर्मला भोलिपल्ट बलात्कारपछि हत्या गरिएको अवस्थामा उखुबारीमा भेटिएकी थिइन्।

यस्तो जघन्य अपराध भएको ५ वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन। निर्मलाको शव भेटिएको दिनदेखि नै अनुसन्धानमा जुटेको कञ्चनपुर प्रहरीले अहिलेसम्म ठोस तथ्य पत्ता लगाउन सकेको छैन।

अनुसन्धानमा संलग्न टोलीले घटनाबारे विभिन्न माध्यमबाट प्राप्त हुने सूचना पछ्याउँदै सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको दाबी गरेका छन्।

यसबीच प्रहरीले डीएनए परीक्षण, शंकास्पद व्यक्तिसँग बयान लगायत सूक्ष्म अनुसन्धान गरिसकेको छ। तर पनि अपराधीको छेउछाउ पनि अनुसन्धान पुग्न सकेको देखिँदैन।

सुरुमै प्रहरीले गल्ती गरेका कारण अनुसन्धान झन्झटिलो बनेको र रहस्यमयी बन्न पुगेको अनुसन्धान टोलीको दाबी छ। पटक पटक अनुसन्धानका टोली बने पनि अपराधी नजिक पुग्न सकेका छैनन्।

‘न्याय पाउने आशा गरिसक्यो’
५ वर्षसम्म पनि अपराधी पहिचान हुन नसक्दा निर्मलाको परिवारले न्याय पाउने आशा मारेको छ।

‘दोषीलाई कारबाही गर्ने सबैले आश्वासन दिए, प्रहरीका प्रमुखहरु र सरकार नै फेरिए, तर यत्तिका समय भइसक्दा पनि छोरीले न्याय पाउन सकिनन्,’ आमा दुर्गादेवी पन्तले भनिन्, ‘अब त न्याय पाउने आशा नै मरिसक्यो।’

निर्मला बलात्कार तथा हत्या प्रकरणको अनुसन्धान प्रगति ‘शून्य’ जस्तै छ। घटना भएको ५ वर्ष बितिसक्दा पनि अपराधी पहिचान हुन सकेको छैन।

नेपाल प्रहरीको अनुसन्धान ‘कुहिरोको काग’जस्तै भएको छ। अनुसन्धानमा प्रहरीले दरिलो प्रमाण प्राप्त गर्न नसक्दा यो प्रकरण नेपाल प्रहरीकै लागि चुनौती बनेको छ।

निर्मला प्रकरणको अनुसन्धानका क्रममा ५ वर्षको अवधिमा प्रहरीले शंकास्पद १२३ जनाको डीएनए परीक्षण गरेको छ। शंकास्पद सयौँसँग सोधपुछ गरेको छ।

कञ्चनपुरका तत्कालीन एसपी डिल्लीराज विष्टका छोरा किरण विष्ट, दिलीपसिंह विष्ट, प्रदीप रावल र विशाल चौधरी लगायत १२३ जनाको डीएनए परीक्षण गरियो। तर रिपोर्ट निर्मलाको भेजाइनल स्वाबसँग मिलेन।

जिल्ला प्रहरी कार्यालयका अनुसार अहिलेसम्म ६८० जनासँग लिखित सोधपुछ गरेको छ। तर घटनालाई निष्कर्षमा पुर्याउने गरी प्रहरीले अझै सफलता पाएको छैन।कञ्चनपुर प्रहरीको नेतृत्वमा अहिले एसपी कमल थापा छन्। उनी यसअघि पनि निर्मला प्रकरणको अनुसन्धानमा खटिएका थिए।

जिल्ला प्रहरीसँगै निर्मला प्रकरणको अनुसन्धानमा सीआइबीको छुट्टै टोली पनि सक्रिय छ। घटनालाई पहिलो प्राथमिकता दिएर गहन रूपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रकाश डाँगीले बताए।

‘यो घटनाको अनुसन्धानलाई हामीले संवेदशील भएर लागेका छौँ, छुट्टै टिम सक्रिय भएर गहन अनुसन्धान जारी छ,’ उनले भने, ‘तर निष्कर्षमा पुग्ने ठोस प्रमाण भेटाउन सकिएको छैन।’

डीएनएसँगै तथ्यपरक प्रमाणको खोजीमा प्रहरी अनुसन्धान केन्द्रित रहेको उनले बताए।
नेपालखबर