सर्वोच्चको अन्तिम आदेशलाई बेठीक रुपमा लिने कुरा आउदैन : कोशीका सभामुख

काठमाडौं । कोशी प्रदेशका सभामुख बाबुराम गौतमले आफ्नो कदमलाई सर्वोच्च अदालतले ‘करेक्सन’ गरिदिएको बताएका छन् ।

कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा समर्थन गर्ने गौतमको कदमलाई बिहीबार सर्वोच्च अदालतले अवैधानिक ठहर गरिदिएपछि गौतमले आफ्नो कदमलाई सर्वोच्चले सच्याइदिएको प्रतिक्रिया दिएका हुन् ।

म आफैं संविधानतः चल्नुपर्ने मान्छे, त्यो एउटा नयाँ परिवेशमा, परिस्थितिमा एउटा खालको निर्णय गरिएको थियो, सर्वोच्चले त्यसलाई करेक्सन गर्‍यो,’ उनले भने, ‘सर्वोच्चको अन्तिम आदेशलाई मैले बेठीक रुपमा लिने कुरा आउदैन ।’ उनले सर्वोच्च अदालतको फैसललाई सम्मान गर्ने बताए ।

सभामुख गौतमले आफूले राजीनामा दिनेबारे नसोचेको बताए । उनले कसैले आफ्नो राजीनामा माग पनि नगरेको बताए । आदेशले नैतिक संकट पर्‍यो नि भन्ने प्रश्नमा उनले भने, ‘सर्वोच्चले नयाँ विधिमा ढालेको छ, एउटा निर्णय दिएको छ, त्यो निर्णयलाई परिपालन गर्ने हो । त्यो )राजीनामा) हल्ला मात्रै हो ।’