प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा

काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नो अनुसन्धान सकी उनीहरूले भ्रष्टाचार गरेको भन्दै बिहीबार मुद्दा दायर गरेको हो ।

शैल्यशिखर नगरपालिका वडा नं ६ पनेबाज मौरीभिटादेखि वडा नं ७ र ८ को बन्तोली बोहरीगाउँको सडकखण्ड निर्माणको लागत इष्टिमेटमा कडा चट्टानको भाग बढी देखाई वास्तविकभन्दा बढी भुक्तानी गरी उनीहरूले भ्रष्टाचार गरेको अख्तियारको दाबी छ ।

अख्तियारले निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट, शैल्यशिखर नगरपालिकाका इन्जिनियर सन्तोष पाण्डेय, शैल्यशिखर नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, शैल्यशिखर नगरपालिकाका सबइन्जिनियर दिपकसिंह विष्ट, शैल्यशिखर नगरपालिका पनेबाज–बन्तोली–बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनञ्जय जोशी तथा कोषाध्यक्ष जानकी बडू जोशीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरिएको हो । उनीहरूविरुद्ध जनहरी २६ लाख २ हजार रुपैयाँ बिगो दाबी गरिएको छ ।