सहकारीका अध्यक्ष १२ लाख धरौटीमा रिहा

काठमाडौं । बचतकर्ताको करोडौं रकम अपचलन गरेको आरोपमा पक्राउ परेका बुटवलस्थित आगन्तुक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष राजु घर्ती धरौटीमा रिहा भएका छन् ।

अध्यक्ष घर्तीलाई जिल्ला अदालत रूपन्देहीले मंगलवार १२ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो । यसैगरी सहकारीका मार्केटिङ हेड सुरज ज्ञवालीलाई ३ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको अदालतका श्रेस्तेदार शोभाखर अर्यालले जानकारी दिए । न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले उनीहरूलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

तर घर्तीलाई पहुँचका भरमा उन्मुक्ति दिइएको बचतकर्ताले आरोप लगाएका छन् ।

सहकारीलाई समस्याग्रस्त बनाएर सम्पर्क फरार भएका घर्तीलाई जिल्ला प्रहरी कार्यालय, रूपन्देहीले केही समय अघि पक्राउ गरेको थियो । घर्तीविरुद्ध ३३५ जना बचतकर्ताले रकम फिर्ताको माग गर्दै जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा जाहेरी दर्ता गराएका थिए । बुटवल र भैरहवाका बचतकर्ताबाट ४ करोड ३६ लाख ६० हजार ४१९ रूपैयाँ फिर्ताको माग गर्दै उजुरी परेको थियो ।

बचतकर्तालाई रकम फिर्ता गर्न नसकेपछि सञ्चालक घर्तीकै अग्रसरतामा गत मंसिर १७ गते विभिन्न ९ सहकारी संस्थासँग मर्जर गरेको कुरा सार्वजनिक समेत गरेका थिए ।

मर्जर गरेको भनेर बचतकर्तालाई ढाँटेका सञ्चालक कार्यालय बन्द गरेर भागेपछि उनीविरुद्ध बचतकर्ताले जाहेरी दर्ता गरेका थिए ।