काठमाडौं । भारतको केरलाको नगर निगममा कार्यरत ११ महिलाले हालै १० करोडको चिट्ठा जितेका छन् । यी ११ जना महिलाले मिलेर २५० रुपैयाँमा चिट्ठाको टिकट किनेका थिए ।
चिट्ठा जितेपछि यी महिलाको आर्थिक अवस्थामा सुधार आएको भए पनि उनीहरूले आफ्नो कामलाई निरन्तरता दिने बताएका छन् ।
यी महिलाहरू ग्रिन केरला मिसन अन्तर्गत सञ्चालित सरसफाइ अभियानको हिस्सा हुन् र उनीहरूले घरबाट फोहोर सङ्कलन गरेर पुनः प्रयोग गर्ने काम गर्छन् ।
यो चिट्ठा बुधवार सार्वजनिक गरिएको हो ।
चिट्ठा जितेकी राधाले भनिन्, ‘ हामीले पैसा जम्मा गरेर चिट्ठाको टिकट किनेका थियौँ । एक अर्कासँग पैसा माग्यौँ । यसअघि पनि धेरै पटक टिकट किनेका थियौँ तर यति ठुलो रकम जितेको यो पहिलो पटक हो । पत्याउनै सकिनँ ।’
समाचार एजेन्सी पीटीआईसँग कुरा गर्दै चिट्ठा जितेकी शिजाले भनिन्, ‘जोसँग ऋण लिएका थियौँ त्यो तिर्नेछौँ । छोरीहरूको बिहे गर्नु छ । कोही नजिकका आफन्तको उपचार गर्नु छ ।’
चिट्ठा जितेका महिलाहरू निकै मेहनती र परिवारको एक मात्र आम्दानीको स्रोत भएको शिजाले बताइन् ।
एउटी महिलाले भनिन्, ‘यो पैसा के गर्ने, त्यो थाहा छैन । हरेक महिलाको जीवनमा आफ्नै चुनौती छ । हामी जे काम गरिरहेका थियौँ, त्यसैले घर चलिरहेको थियो । हामी यो काम छोड्दैनौँ ।’
Add Comment