मंगलबारको मन्त्रिपरिषद बैठकबाट संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदैछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघीय शिक्षा ऐन मन्त्रिपरिषदबाट पारित गरेर सदनमा लगिने बताएका छन्।

यही मंगलबार बस्ने मन्त्रिपरिषद बैठकले संघीय शिक्षा ऐन पारित गर्ने र त्यसपछि सदनमा पठाइने प्रधानमन्त्री दाहालले बताएका हुन्।

समाजवादी विद्यार्थी मोर्चाले आज गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले भने, ‘पर्सी मंगलबारको मन्त्रिपरिषद बैठकबाट पहिलोचोटी संघीय शिक्षा ऐन पारित गरेर सदनमा पठाइँदैछ।’

संघीय शिक्षा ऐनले शिक्षा क्षेत्रमा देखा परेका थुप्रै समस्यालाई सम्बोधन गर्ने प्रधानमन्त्री दाहालको भनाइ छ।

उनले त्रिवि सेवा आयोगको अध्यक्ष खाली भएको धेरै समय भइसकेको पनि बताए। ‘पर्सीसम्म त्रिवि सेवा आयोग अध्यक्ष तपाईंहरूले पाउनुहुनेछ,’ उनले भने।

फरक प्रसंगमा प्रधानमन्त्री दाहालले उच्च शिक्षा आयोगको प्रतिवेदन पनि सार्वजनिक नभएको बताए। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त प्रतिवेदन सार्वजनिक नगरेको उनको भनाइ छ।

‘तत्कालीन प्रधानमन्त्रीले उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गर्न चाहनुभएन,’ उनले भने, ‘उहाँले त्यसलाई तकियामुनि राख्नुभयो। म प्रधानमन्त्री भएपछि खोजी भइरहेको छ। तत्कालीन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पनि एक प्रति नराखी बुझाउनुभएको रहेछ।’