सरकारको खर्च भन्दा आम्दानी धेरै

काठमाडौं । संघिय सरकारले अहिले भने खर्च भन्दा धेरै आम्दानी गरेको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार साउन १३ गतेसम्म सरकारले ४ अर्ब ४७ करोड ९१ लाख रुपैयाँ बढी आम्दानी गरेको छ ।

यो अवधिमा कुल आम्दानी १८ अर्ब ६४ करोड ९० लाख रुपैयाँ हुदा खर्च १४ अर्ब १६ करोड ९९ लाख रुपैयाँ भएको छ । यो खर्चलाई राजस्वले धान्न सक्ने देखिन्छ । सरकारले १३ दिनमा १४ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ ।

गत वर्ष राजस्व न्यून हुँदा सरकारलाई खर्च व्यवस्थापन मै सकस परेको थियो । चालु आर्थिक वर्षको शुरुमा भने खर्च भन्दा बढी राजस्व सरकारले उठाएको छ । यहि अनुपातमा राजस्व उठ्ने हो भने सरकारले गत वर्षभन्दा केही सहज अवस्थामा रहने देखिन्छ ।

सरकारले चालु आर्थिक वर्ष २०८०/८१ मा १४ खर्ब २२ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । यो वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्बको बजेट बिनियोजन गरेको छ ।