प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बोलाइयो

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक परिषद्को बैठक बोलाएका छन् । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न बैठक बोलाइएको हो ।

बैठक मंगलबार अपराह्न ४ बजेका लागि बोलाइएको उपसभामुख इन्दिरा राना मगरले जानकारी दिइन् । “मंगलबार ४ बजे बस्ने गरी बैठक बोलाइएको छ । प्रधानन्यायाधीश सिफारिसका लागि बैठक बोलाइएको हो,” उनले भनिन् ।

बैठक बोलाउने विषयमा प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासँग संवाद गरेका थिए ।

“प्रधानमन्त्रीले बैठक बोलाउने तयारी गर्नुभएको छ । उहाँ निरन्तर छलफलमा हुनुहुन्छ,” प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले भने ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गते अवकाशमा जाँदै छन् । त्यसको एक महिनाअगाडि नयाँ प्रधानन्यायाधीश सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।