पाकिस्तानमा आत्मघाती विस्फोट हुँदा मृत्यु हुनेको संख्या ४४ पुग्यो, सयौं घाइते

काठमाडौं । पाकिस्तानमा एक व्यक्तिले आत्मघाती बम विस्फोट गराउँदा मृत्यु हुनेको संख्या ४४ पुगेको छ । २०० भन्दा बढी व्यक्ति घाइते छन् ।

अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको उत्तरपश्चिमी बाजौर जिल्लाको खारको क्षेत्रमा गएको आइतबार यो घटना भएको हो ।

कन्जरभेटिभ जमियत उलेमा ए इस्लाम (जेयूआई–एफ) पार्टीको र्‍यालीमा आत्मघाती बम विस्फोट गरिएको थियो । आक्रमणको जिम्मेवारी कसैले लिएको छैन ।

आत्मघाती आक्रमणकारीले सो पार्टीका वरिष्ठ नेता बसेको मञ्चनजिकै विस्फोट गराएको पाकिस्तानको प्रान्तीय प्रहरीले जनाएको छ ।

प्रारम्भिक अनुसन्धानबाट आक्रमणका पछाडि आईएसआईएस समूहको संलग्नता हुन सक्ने आशंका गरिएको छ । अधिकारीहरूले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् ।