जुवाखालबाट समातिए १० जना, त्यो पनि वडाध्यक्षदेखि प्रदेश नेतासम्म

काठमाडौं । कैलालीको धनगढीमा जुवाखालबाट जनप्रतिनिधि तथा नेतासहित १० जना समातिएका छन्।

धनगढीको बसपार्कस्थित कलेल होटलबाट जुवा खेलिरहेका १० जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

डोटीको पूर्वीचौकी गाउँपालिका– २ का अध्यक्ष योगेन्द्र ठकुल्ला र सोही पालिकाको वडा नं. ५ का अध्यक्ष खडक साउद जुवाखालबाट समातिएका हुन्।

पक्राउ पर्नेहरूमा होटल सञ्चालनक तेजबहादुर कलेलसहित अन्य कर्मचारी, शिक्षक तथा नेताहरू छन्।

पूर्वीचौकी गाउँपालिका बस्ने एकीकृत समाजवादी पार्टीका प्रदेश कमिटी सदस्य देवलाल खड्का र सोही पालिका बस्ने माओवादीका प्रदेश कमिटी सदस्य धनबहादुर विष्ट पनि प्रहरी फन्दामा परेका छन्।

पक्राउ परेका गोदावरी नगरपालिका–३ का कुवेर खड्का नेपाली कांग्रेसको पूर्वजिल्ला सदस्य रहेको खुलेको छ।

डोटीको दीपायल सिलगढी नगरपालिकाका सुजित खड्का पनि प्रहरी नियन्त्रणमा छन्। उनी खानेपानी तथा सरसफाइका कर्मचारी रहेको खुलेको छ।

यस्तै, पूर्वीचौकी गाउँपालिका–१ का पुरन बहादुर खड्का शिक्षक रहेको खुलेको छ। यस्तै, पक्राउ पर्नेमा पूर्वीचौकी गाउँपालिका–३ का अमित बोहरार सोही पालिकाको वडा नं. २ का अविनाश कठायत पनि छन्।

जुवाखालबाट एक लाख ४ हजार ८१० रुपैयाँ र तास बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपवी कुलदीप चन्दले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरूविरुद्ध आज मुद्दा दर्ता गरेर कानुनी कारबाही अघि बढाइनेछ।