कोशीमा रोकियो मुख्यमन्त्रीको शपथ, शपथ लिन ठिक्क परेकाहरू फर्किए

काठमाडौं । नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण स्थगित भएको छ । माओवादीले मन्त्री पठाउने निर्णय गर्न नसकेपछि साढे १० बजेका लागि तय भएको मुख्यमन्त्रीको शपथग्रहण कार्यक्रम स्थगित भएको हो ।

आज गठबन्धन दलबाट एक(एक जनालाई मन्त्री बनाउने तयारी थियो ।

माओवादीमा भने कसलाई मन्त्री बनाएर पठाउने भन्ने विवाद भएको छ । सभामुखबाट राजीनामा दिएका बाबुराम गौतमलाई मन्त्री बनाउने सहमति भएको थियो । तर, अन्तिम समयमा जीवन आचार्यले पनि मन्त्री दाबी गरेका छन् ।

अचानक शपथग्रहण कार्यक्रम स्थगित भएपछि शपथ लिन ठिक्क परेकाहरू फर्किएका छन् । नयाँ मन्त्रीको सूचीमा रहेका नेकपा एसका कमल जबेगु पनि फर्किए । शपथ समारोहमा सहभागी हुन एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्की उपसभामुख सिर्जना दनुवारलगायतका अतिथि पनि प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।