माओवादीले तीन महिना ‘जनतासँग पार्टी अभियान’ चलाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले तीन महिना ‘जनतासँग पार्टी अभियान’ चलाउने भएको छ ।

संगठन सुदृढीकरणका लागि माओवादी केन्द्रले भदौदेखि तीन महिना ‘जनतासँग पार्टी अभियान’ चलाउने भएको हो ।

कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गरेको सांगठनिक प्रतिवेदनमा भदौ, असोज र कात्तिक महिनाभर ‘जनतासँग पार्टी अभियान’ चलाउने उल्लेख छ ।

६ हजार ७४३ वटै वडालाई मूल आधार बनाएर अभियान चलाउने प्रतिवेदनमा भनिएको छ । देशभरका सबै वडामा पार्टीको कमिटी पनि गठन गरिने प्रतिवेदनमा उल्लेख गरिएको छ । अभियानमा पार्टीका सबै केन्द्रीय सदस्यहरूलाई वडा-वडामा खटाइने छ । प्रतिवेदनमा सबै समितिहरू डिजिटल बनाउने पनि उल्लेख छ ।

पार्टीको वार्षिक कार्यतालिका बनाउने र मंसिरमा विधान सम्मेलन गर्ने प्रचण्डको प्रतिवेदनमा उल्लेख छ । यस्तै, प्रदेशको जिम्मेवारी सचिवहरूले लिने पनि उल्लेख छ । सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको १० प्रतिशतलाई पार्टीको संगठित सदस्य बनाउनुपर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।