काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले महिलाको लागि मात्रै सार्वजनिक बस चलाउने रवि लामिछानेको घोषणा भोटको सस्तो राजनीति भएको टिप्पणी गरेका छन् ।
चितवनमा लामिछानेले महिलाहरूका लागि निःशुल्क बस सञ्चालन गरेपछि पोखरेलले रविको यस्तो राजनीतिले हामी कता जाँदैछौं भन्ने प्रश्न उठेको बताएका छन् ।
‘पञ्चायतकालमा म विद्यार्थी राजनीतिका सिलसिलामा पहिलोपटक चितवन पुग्दा महिलाहरूले ठूलो संख्यामा साइकल चलाएर स्कुल कलेज आएको देख्दा पुरुष र महिलाबीचको सामाजिक विभेद अन्त्य गर्न सकिन्छ भन्ने विश्वासको आधार बलियो बनाउने मौका पाएको थिएँ । तर आज त्यही चितवनमा नयाँ भनिने पार्टीले महिलाका लागि मात्र भनेर सार्वजनिक यातायातको शुरुवात गरेको समाचार सुन्दा हामी कता जान खोज्दैछौं भन्ने प्रश्न जागृत भएको छ’ पोखरेलले भनेका छन्, ‘नयाँ र वैकल्पिक शक्ति बनाउछौं भन्नेहरूले गर्न खोजेको काममा रुपान्तरणकारी सोच र योजना देखिनु पर्दछ । हरेक कामबाट भविष्यको सुन्दर दृश्य देखिनु पर्दछ । तर स्वतन्त्र पार्टीका अध्यक्षको अहिलेको कामले भोटको सस्तो राजनीति गर्न खोजेको देखियो । यस्तो कुरामा गम्भीर बनौं ।
चितवनजस्तो सचेत ठाउँबाट नेपाली समाजको भविष्यको सकारात्मक चित्र कोर्ने र सन्देश दिने प्रयास गरौं ।’ दुनियाँका धेरै मुलुकहरूमा महिलाहरू बन्द समाजमा जकडिएको बेलामा नेपाली समाजमा अपवादबाहेक महिलाहरू शुरुदेखिनै तुलनात्मक हिसाबले स्वतन्त्र रहेको पोखरेलको भनाइ छ ।
‘उत्पादनको काममा परिवारका सदस्यहरूसँग मिलेर एक साथ काम गर्दथे । जबकि अहिले युवाहरूको ठूलो संख्या रोजगारीका सिलसिला मा विदेशिएका बेला ठूलो संख्यामा महिलाहरू परिवारको मुलीको रुपमा भूमिका निर्वाह गरिरहेका छन् । यस्तो अवस्थामा आफूलाई नयाँ शक्ति भन्नेहरूले कस्तो समाजको परिकल्पना गरेर महिलाका लागि मात्र भनेर सार्वजनिक यातायात सञ्चालन गर्न खोजेका होलान रु जिज्ञासा उठ्नु स्वाभाविक हो’ पोखरेलले भनेका छन्, ‘नेपाली समाजमा यति बेला रुपान्तरणकारी सोच र कार्यक्रमको आवश्यकता छ । चितवन महिला जागरण र जागृतिको थलो हो ।’
Add Comment