आँखा पाक्ने रोगका फैलिन थालेपछि विद्यालय बन्द

काठमाडौं । चितवनमा आँखा पाक्ने रोगको संक्रमण फैलिन थालेपछि विद्यालयमा पठपाठन रोकिएको छ । पूर्वी चितवनको खैरहनी नगरपालिकाले विद्यालयमा आँखा पाक्ने रोगको संक्रमण अत्यधिक हुन थालेपछि दुई दिन बिदा दिएको छ ।

नगरपालिकाले आज एक सार्वजनिक सूचना जारी गरी आइतबार र सोमबार दुई दिन बिदा दिएको जनाएको हो । नगरपालिकाका नगर शिक्षा अधिकारी राजु बानियाँका अनुसार ४ जना विद्यार्थी आँखा पाक्ने संक्रमण लिएर विद्यालय पुग्दा बेलुकासम्म ४० जनामा फैलिने अवस्था आएकाले विद्यालयमा पठनपाठन बन्द गरिएको हो ।

जिल्लाभर अहिले सामुदायिक विद्यालयमा वर्खे बिदा चलिरहेको छ । संस्थागत विद्यालय र कलेजहरु सञ्जालनमा छन् । नगरपालिकाले आँखा पाक्ने रोग एकबाट अर्को व्यक्तिमा चाँडो फैलिने भएकाले एकैपटक धेरै विद्यार्थी विद्यालयमा रहँदा संक्रमणको दर ह्वात्तै बढ्नसक्ने जोखिम भएकाले विद्यालय बन्द गर्ने निर्णय गरेको नगर शिक्षा अधिकारी बानियाँले बताए ।

अहिले विशेषगरी बालबालिकामा फैलिएको आँखा पाक्ने रोग अर्थात् पिंक आई डिजिजलाई वर्षाको समयमा हुने आँखा रोग विशेषज्ञहरुले बताएका छन् । एकै समयमा हावाको माध्यमबाट धेरै मानिसमा फैलिने भएकोले समस्या भएका व्यक्तिबाट टाढा रहने र आँखामा चस्मा लगाएर मात्रै हिँड्न आँखा अस्पताल चितवनका आँखारोग विशेषज्ञ डा. कुमुदिनी सुवेदीले सुझाव दिएकी छन् ।