वैदेशिक रोजगारीबाट फर्किनेले ३२ इन्च सम्मको एउटा टेलिभिजन ल्याउँदा भन्सार नलाग्ने

काठमाडौं । श्रम स्वीकृति लिएर एक वर्षभन्दा बढी वैदेशिक रोजगारीमा काम गरेर फर्किने श्रमिकले ल्याउने एउटा टेलिभिजनमा भन्सार छुट पाउने भएका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयले झिटीगुन्टा सुविधा अन्तरगत पाउने भन्सार छुटलाई प्रस्ट बनाउँदै सामाजिक सुरक्षा कोषमा आवद्ध वैदेशिक रोजगारीमा रहेका श्रमिकले जुनसुकै साइज र मूल्यका एउटा टेलिभिजनमा छुट पाउने बताएको छ ।

‘श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेका र सामाजिक सुरक्षा कोषमा समेत सूचीकृत भएका श्रमिकले जुनसुकै आकार वा प्रकारको टेलिभिजन साथमा ल्याउँदा भन्सार छुट पाउनेछन्,’ विमानस्थल भन्सार कार्यालयको सूचनामा भनिएको छ

श्रम स्वीकृति लिई लगातार १२ महिना काम गरेको तर सामाजिक सुरक्षा कोषमा सूचीकृत नभएका श्रमिकले भने ३२ इन्चसम्मको टेलिभिजन मात्र भन्सार नतिरी साथमा ल्याउन सकने सूचनामा उल्लेख छ । यस बाहेकको अन्य अवस्थामा भने सबै टेलिभिजनमा नियमानुसारको भन्सार महसुल भन्सार कार्यालयमा तिनुपर्ने छ ।

यस्तै विदेशबाट नेपाल फकर्ने महिलाको हकमा ५० ग्राम र पुरुषको हकमा २५ ग्रामसम्मको सुनको गहनामा भन्सार नलाग्ने सूचनामा उल्लेख छ । २०० ग्रामसम्मको सुनको गहनामा भने विमानस्थलको भन्सार विन्दुमा भन्सार तिरेर ल्याउन सक्ने उल्लेख छ । गहनाको आकार मात्रै दिएर बनाएको बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नभएका सुनलाई गहनाको मान्यता नहुेन समेत कार्यालयले बताएको छ ।

विदेशबाट फर्कने नेपाली यात्रुले आफूले प्रयोग गरिरहेको मोबाइल साथमा ल्याउँदा भन्सार नलाग्ने कार्यालयले जनाएको छ । तर, श्रम स्वीकृति लिएर लगातार ६ महिनाभन्दा बढी विदेशमा काम गरी फर्केका यात्रुहरुले आफ्नो साथमा थप एक थान मोबाइल भन्सार नतिरी ल्याउन सक्नेछन् । तर, यस्तो मोबाइलका लागि भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया भने पूरा गर्नुपर्ने सूचनामा भनिएको छ ।