टी-२० विश्वकप छनोट : नेपालको कन्सल्ट्यान्ट प्रशिक्षकमा भारतकी देविका नियुक्त

काठमाडौं । नेपाली महिला राष्ट्रिय क्रिकेट टिमको कन्सल्ट्यान्ट प्रशिक्षकमा भारतकी देविका दिलिप पल्शिकर नियुक्त भएकी छिन्।

नेपाल क्रिकेट संघ (क्यान) ले भारतकी पूर्वक्रिकेटर तथा हाल प्रशिक्षण गराउँदै आएकी ४४ वर्षीय देविकालाई कन्सल्ट्यान्ट प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ।

उनी नेपालले टी-२० विश्वकप छनोट खेल्दा कन्सल्ट्यान्ट प्रशिक्षकको भूमीकामा हुनेछिन्।

सन् २००८ सम्म भारतको टिमबाट खेलेकी देविका २०१४ देखि २०१६ सम्म भारतको सहायक प्रशिक्षक थिइन्। यस्तै उनी २०१८ मा बंगलादेशको सहायक प्रशिक्षक हुँदा गत सिजन भारतको वुमन्स प्रिमियर लिगका लागि मुम्बई इन्डियन्सकी ब्याटिङ प्रशिक्षक थिइन्।

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोट मलेसियामा आयोजना हुँदैछ। प्रतियोगिताको समूह ‘ए’ मा नेपालसहित ६ टिमले प्रतिस्पर्धा गर्दैछन्।

अगस्ट अन्तिम सातादेखि हुने प्रतियोगितामा नेपाल, बहराइन, भुटान, मलेसिया, कतार र युएई समूह ‘ए’ मा छन्।

प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेलमा अगस्ट ३१ मा आयोजक मलेसियासँग खेल्नेछ।

समूह ‘बी’ मा ५ टिम छन्। प्रतियोगिताबाट दुई टिम विश्व छनोटमा पुग्नेछन्।

विश्वकप छनोटमा १० टिम सहभागी हुँदा २ टिमले सन् २०२४ मा बंगलादेशमा हुने महिला टी-२० विश्वकपमा स्थान पक्का गर्नेछन्।

नेपालको प्रारम्भिक टिम
रुबिना क्षेत्री, सीता राना मगर, इन्दू बर्मा, कविता कुँवर, कविता जोशी, अस्मिना कर्माचार्य, कृतिका मरासनी, विन्दू रावल, अप्सरी बेगम, कालोज श्रेष्ठ, सम्झना खड्का, इश्वरी विष्ट, ज्योती पाण्डे, सरस्वती चौधरी, नेरी थापा, मनिषा चौधरी, रुबी पोद्दार, खुसी डंगोल, पुजा महतो, सबनम राई, रोमा थापा, कंचन श्रेष्ठ, श्रृष्टि जैशी र स्नेहा महरा।