बाढीका कारण बीपी र मदन भण्डारी राजमार्ग अवरुद्ध

काठमाडौं । लगातारको वर्षापछि आएको पहिरो बीपी राजमार्ग र मदन भण्डारी राजमार्ग अवरुद्ध भएको छ । बीपी राजमार्गको नेपालथोक धुलिखेल खण्डअन्तर्गत काभ्रेको मंगलटारमा लेदोसहितको पहिरो खस्दा यातायात अवरुद्ध भएको छ ।

दुम्जामा घ्याम्पे खोलामा आएको बाढी घट्नेक्रममा रहेको र गोलन्जोर गाउँपालिकाको खनियाँखर्क क्षेत्रमा लेदोसहितको पहिरो सफा गरिएकाले एकतर्फी यातायात सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

मंगलटारको अवरोध हटेपछि पहिरो खसेको स्थानमा एकतर्फी यातायात सञ्चालनमा आउने सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालले जानकारी दिए । मदन भण्डारी राजमार्गको मरिण, हरिहरपुरगढी क्षेत्रका ठाउँठाउँमा पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

सिन्धुलीमाडीदेखि हरिहरपुरगढीको वाग्मती पुलसम्म पूरै क्षेत्र पन्छाएपछि यातायात सञ्चालनमा आउने एसपी सिलवालले बताए । मध्यपहाडी राजमार्गमा सानातिनो पहिरो खसेपनि यातायात अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।