कम्बोडियाको प्रधानमन्त्रीमा माने नियुक्त

]काठमाडौं । कम्बोडियाको प्रधानमन्त्रीमा हुन माने नियुक्त भएका छन् । उनलाई कम्बोडियाली राजा नोरोदोम सिहामोनीले सोमबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।

उनी करिब चार दशक कम्बोडियामा शासन गरेका हुन सेनका जेठा छोरा हुन् । सेनले हालै आफू अब प्रधानमन्त्री नबन्ने र छोरालाई सत्ता हस्तान्तरण गर्ने घोषणा गरेका थिए । ४५ वर्षीय हुन प्रधानमन्त्री बने पनि उनले आगामी अगस्ट २२ मा संसद्बाट विश्वासको मत प्राप्त गर्नुपर्नेछ ।

कम्बोडियामा गत जुलाई २३ मा भएको संसदीय चुनावमा सेनको दल कम्बोडियन पिपुल्स पार्टी ९सीपीपी० ले १२५ मध्ये १२० सिट जितेको दाबी गरेको छ । यद्यपि, निर्वाचन आयोगले आधिकारिक रूपमा परिणाम घोषणा यही अगस्ट ९ मा गर्ने भएको छ । चुनावको आधिकारिक परिणाम सार्वजनिक भएपछि सेन नै फेरि प्रधानमन्त्री बन्ने अड्कलबाजी गरिएको थियो । त्यसविपरीत उनले छोरालाई अघि सारेका हुन् । छोरा हुन यसअघि कम्बोडियन सेनाका कमान्डर थिए । उनले हालैको निर्वाचनमा सीपीपीको प्रमुख प्रचारकको भूमिका निर्वाह गरेका थिए । उनले आफ्नो मन्त्रिपरिषद्मा युवा नेतालाई सहभागी गराउने अपेक्षा गरिएको छ ।

सेनले सन् १९८५ यता करिब ४ दशक कम्बोडियामा शासन गरे । उनीमाथि आफ्ना विरोधीलाई दमन गरेको, प्रतिस्पर्धी विपक्षी पार्टी सीएनआरपीलाई भंग गर्न र त्यसका नेताहरूलाई जेल हाल्न अदालतको प्रयोग गरेको, अभिव्यक्ति स्वतन्त्रतामा हस्तक्षेप र स्वतन्त्र सञ्चारमाध्यमलाई बन्द गराएको आरोप छ । उनले कम्बोडियाको स्थिरता सुनिश्चित गर्न प्रधानमन्त्री पदबाट पछि हटेको बताएका छन् । यद्यपि, उनी सीपीपीको प्रमुख भने रहिरहनेछन् । कम्बोडियामा यस पटकको निर्वाचनमा १८ दलले प्रतिस्पर्धा गरेका थिए । यहाँ प्रत्येक ५ वर्षमा निर्वाचन हुँदै आए पनि लामो समयदेखि सेनको पार्टी सीपीपीले नै निर्वाचन जित्दै आएको छ । यसअघि सन् २०१८ मा भएको आम निर्वाचनमा सीपीपीले सबै १२५ सिट जितेको थियो ।