रवि लामिछानेको प्रश्न – सदन चल्ने बेलामा नै तीन दल बसेर बार्गेनिङ किन,मिल्नुपर्ने कुरा पहिल्यै मिलाउन सकिँदैन ?

फाईल तस्बिर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद चल्ने बेलामा नै तीन दलका नेता बसेर किन बार्गेनिङ गरिन्छ भनेर प्रश्न गरेका छन्।

प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले संसद बैठकको सूचना दिने अनि तीन दलका नेताहरू बसेर बार्गेनिङ गर्न थाल्ने बताएका हुन्।

‘संसद् कहिले सुरू हुन्छ भनेर सूचना जारी भएपछि त्यो समयलाई मध्यनजर राख्नुपर्दैन ? मिल्नुपर्ने कुरा पहिल्यै किन मिलाउन सकिँदैन ? हाम्रो आरोप अनुसार यो बार्गेनिङ रातारात बसेर किन गर्न सक्दैनन्रु सदन चल्ने बेलामा नै किन गरिन्छ ?,’ उनले भने।

उनले मिलेमतोमै सदन अवरूद्ध गर्ने काम भइरहेकाले समयमै सदन चलाउन सभामुखबाट रूलिङको समेत माग गरे।

‘यो बजेट यथास्थितिमा पास हुन दिँदैनौं भन्ने सत्तापक्षमा बसेर कराउनेहरूले खुरूखुरू पास गरेका थिए। त्यो बार्गेनिङ नै त थियो होला नि ! नत्र त यहीँ बोलेको हो। यथास्थितिमा पास भएको हो। यसो भएन भने संसद चल्न दिँदैनौं भनेको हो। त्यसो नहुँदा पनि संसद चलिरह्यो। त्यसकारणले संसद चल्ने समय भनेको अमुक दलको कुरा मिल्दा र नमिल्दा होइन,’ उनले भने।

उनले संसदमा जनताको मुद्दामा छलफल हुनुपर्ने धारणा राखे।

संसदीय समितिमा भागबन्डा मिलिसकेपछि संसद् चलेको हुन सक्ने उल्लेख गर्दै लामिछानेले रास्वपा सैद्धान्तिक हिसाबले प्रतिपक्षी बन्न पुगेको पनि बताए।

‘हामीलाई संसदीय समितिमा ठाउँ छैन। तर, यसबाट हामी चिन्तित छैनौं। हामीले आफूलाई अझ बढी जिम्मेवार पाएका छौं,’ उनले भने।

राजनीतिक हस्तक्षेपका कारण राज्यका निकाय निकम्मा बनाएको उनको आरोप छ। दलहरूले आफूले आफ्ना मान्छे भर्ती गरेका सरकारी निकायप्रति नागरिकको विश्वास छैन भनेर कुर्लन पनि नमिल्ने बताए।

एक क्विन्टल सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेबारे गृहमन्त्रीको जवाफ सुनेर धारणा बनाउने उनको भनाइ थियो।