बाढी-पहिरोका कारण २ राजमार्ग अवरूद्ध, ३३ ठाउँमा एकतर्फी रूपमा सञ्चालन

काठमाडौं । बाढी-पहिरोका कारण दुई वटा राजमार्ग दुई ठाउँमा अवरूद्ध भएको सडक विभागले जानकारी दिएको। विभागका अनुसार विभिन्न राजमार्गहरू ३३ ठाउँमा एकतर्फीरूपमा सञ्चालनमा रहेको छ।

पहिरोका कारण अवरूद्ध भइरहने मुग्लिन-नारायणगढ सडक भने अहिले दुवैतर्फ सञ्चालनमा रहेको छ।

विभागले वेबबसाइटमा अद्यावधिक गरेको विवरणअनुसार धनगढी-सहजपुर-वुडर-स्याउले, सतबाँझ-थाकतोली-दार्चुला-टिङ्कर जोड्ने सडक कैलालीको बुढीतोलामा अवरूद्ध छ।

यस्तै तमोर कोरिडोर अन्तर्गत चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक जोड्ने सडक पाँचथरको हेवाखोलामा अवरूद्ध छ।

विभागले जानकारी दिएअनुसार मनसुन सुरू भएयता विभिन्न राजमार्गहरू १७३ स्थानमा अवरूद्ध भएका थिए। अहिले १३८ स्थानमा दुवैतर्फ सञ्चालनमा आइसकेका छन्।

विभागले उल्लेख गरेअनुसार यस वर्षको मनसुनजन्य विपद्बाट सडक भत्कँदा १ अर्ब २६ करोड ५६ लाख ५० हजार रुपैयाँ बराबर क्षति भएको छ।

पुलपुलेसा, कल्भर्ट बगाउँदा २५ करोड रूपैयाँ बराब क्षति हुन पुगेको विभागको आकलन छ।