पहिरोसँगै खसेको ढुंगा लागेर घाइते प्रहरी जवानको मृत्यु

काठमाडौं । मकवानपुरमा सुक्खा पहिरोमा परी घाइते भएका एक प्रहरी जवानको शुक्रबार मृत्यु भएको छ।

मकवानपुरका प्रहरी प्रमुख एसपी सीताराम रिजालका अनुसार जाजरकोट जिल्लाको शिवालय नगरपालिका– ८ घर भई प्रहरी चौकी भैँसेमा कार्यरत २२ वर्षीय प्रहरी जवान कीर्तिबहादुर नेपालीको मृत्यु भएको हो।

मकवानपुरको भीमफेदी गाउँपालिका– २ भैँसेमा सुक्खा पहिरोमा खसेको ढुंगाले लागेर प्रहरी जवान नेपाली घाइते भएका थिए।

घाइते नेपालीलाई उपचारका लागि हेटौँडा अस्पताल ल्याइएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको एसपी रिजालले जानकारी दिए।

बिहीबार भैँसेस्थित प्रहरी पोस्टमा ड्युटीमा रहेकोे समयमा चिप्लिएर लडी घाइते भएका जवान नेपाली हेटौँडा अस्पतालमा उपचारपछि फर्किने क्रममा पुनः घाइते भएपछि उनलाई अस्पताल पुर्‍याइएको थियो।

ढुंगा लागेर प्रहरी जवान नेपालीसँगै अर्का प्रहरी जवान सुनील मेचे पनि घाइते भएका थिए। उनको भने अवस्था सामान्य रहेको मकवानपुर प्रहरीले जनाएको छ।